झापा, असोज १ । जग्गादाता स्वर्गीय बहादुरसिंह राजवंशीको अर्धकदको शालिक झापाको कचनकवलमा अनावरण गरिएको छ ।

राणाकालीन समयमा जमिन्दार रहेका राजवंशीले केचनामा २०१७ सालमा १३ बिघा ४ कठ्ठा ६ धुर जग्गा दान गरी महेन्द्र रत्न माध्यमिक विद्यालय स्थापना गरेका थिए। कचनकवल गाउँपालिका –४ केचनाको बहादुर जिमिदार चोकमा उनको अर्धकदको शालिक आज अनावरण गरिएको हो ।
राष्ट्रिय सभा सदस्य तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र पालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले संयुक्त रुपमा शालिक अनावरण गरेका थिए । महेन्द्र रत्न माध्यमिक विद्यालयले एक औपचारिक कार्यक्रम गरी जग्गादाता स्व. राजवंशीको परिवारलाई सम्मान गरेको थियो ।कार्यक्रममा जग्गादाता स्व राजवंशीका छोरा पंचानन्द राजवंशी र बुहारी दुर्गावती राजवंशी तथा कान्छी बुहारी महेश्वरीदेवी राजवंशीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।
इटहरी कलाकुञ्जका मूर्तिकार अभिषेक तिम्सिनालाई समेत सम्मान गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजनारायण राजवंशीको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा बोल्दै राष्ट्रियसभा सदस्य तथा पूर्व गृहमन्त्री सिटौलाले शिक्षाको ज्योति छर्ने महान व्यक्तिहरु सदैव पुजनीय हुने बताए । उनले आफ्नो मात्र सोच्ने आधुनिक युगमा त्यस्ता महान व्यक्तिहरुको कर्मले सबैलाई समाजसेवामा लाग्न प्रोत्साहन गर्ने धारणा राखे ।
त्यस्तै विशेष अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष राजवंशीले तात्कालीन अवस्थामा कर्णालीभन्दा पनि विकट मानिएको यस क्षेत्रका जनतालाई शिक्षाका लागि योगदान पु्र्याउनु हुने जग्गादाताको सम्मान गर्न पाउँदा आफूले गर्व महसुस गरेको बताए । उनले विगतमा सरकारको उपस्थिति नै नहुने यस क्षेत्रमा सरकारलाई सहयोग गर्नु हुने महानुभावहरुको सम्मान गर्ने स्थानीय सरकारको नीति नै भएको बताए । आर्थिक वर्ष २०८१÷०८२ मा थप दुई विद्यालयका जग्गादाताहरुको शालिक स्थापना गरिने उनले जानकारी दिए ।
गाउँपालिकाको ३ लाख र विद्यालयको २ लाख गरी ५ लाख रुपैयाँको लागतमा जग्गादाता राजवंशीको शालिक निर्माण गरिएको जनाइएको छ ।