
झापा, असोज २ । वराहक्षेत्र नगरपालिका–६, ९ र बेलका नगरपालिका–२ र ३ वडाको नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टप्पुवासी वर्षा सकिएसँगै सन्तोषको सास फेर्न थालेका छन् ।
हरेक वर्षकोे जेठ, असार, साउन, भदौसम्मको वर्षायाममा सप्तकोशी नदीमा बढ्ने पानीको सतहले बस्ती नै पानीमा विलिन हुने हो कि भन्ने त्रासबाट यस वर्षका लागि भने मुक्त भएको स्थानीयवासी बताउँछन् ।
हरेक वर्षायाममा नदीले कटान गर्दै आएकाले टप्पु क्षेत्र साघुरिँदै गए पनि यस वर्षको वर्षा कम भएसँगै कटान रोकिँदै गएको छ । यस वर्ष वर्षामा मात्रै यस क्षेत्रको करिब २५ बिघाभन्दा बढी खेतीयोग्य जमिन नदीको कटानमा परेको थियो । यहाँका जलाल, शिशौली घाट, चिलैया र गरैया बस्ती कटानमा पर्दै आएका छन् । प्रत्येक वर्ष नदीमा आउने भेलले यसरी नै कटान गर्दै जाने हो भने केही वर्षपछि टप्पुको नामोनिसाना नै नरहने ५७ वर्षीय बद्री राई बताउछन् ।
यहाँका बासिन्दाले नदीको कटानमा परी आफ्नो थातथलो गुमाए पनि कतैबाट क्षतिपूर्ति र मुआब्जा पाउँदैनन् । कटानको पीडामा मलम लगाउने कुनै पनि निकाय यहाँ नपुग्ने बद्री राई बताउछन् । नदी कटानमा परी घरखेत गुमाएका र टप्पुवासीलाई नै सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिनुपर्ने उनको माग छ ।