बिर्तामोड, असोज ५ । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।
नगर अस्पतालमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गरेका हुन् । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनले उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरेको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिइन् । उनले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगर अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने कार्यमा आफू लागेको बताइन् ।
यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले यो महत्वपूर्ण प्रविधिले सेवा प्रवाहमा सहयोग पुर्याउने भन्दै बिर्तामोडका जनताले लाभ लिने बताए ।कार्यक्रममा दाता टेरी मिकेस्कालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले सम्मानस्वरुप उनलाई प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. आयन अधिकारी, टेरी मिकेस्का फाउण्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले धारणा राखेका थिए ।बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य यमुना आचार्य, टेरी मिकेस्का फाउण्डेसन र नगर अस्पतालको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले, राजन काफ्लेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।