झापा,असोज ७ । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा स्वागत गरिएको छ। सोमबार काठमाडौं आइपुगेको क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्याण्डबाजासहित भव्य स्वागत गरेको हो।
माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो।
खेलाडीहरुलाई स्वागत गरेपछि भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिवल खेलको विकासका लागि क्लब प्रतियोगिता निकै महत्वपूर्ण हुने बताए। महिला काभा क्लव प्रतियोगिता माल्दिभ्समा आयोजना भएपनि पुरुष क्लब प्रतियोगिता आगामी डिसेम्बरमा नेपालमा हुने उनले जानकारी गराए।
काभा महिला भलिबल क्लब च्याम्पियन पुलिस क्लबका खेलाडीहरुलाई नगर परिक्रमा समेत गराइएको थियो।