झापा, असोज ७ । सरकारले चाडपर्वका लागि भन्सार छुटमा ल्याउन अनुमति दिएको चिनी दसैँअघि नआउने निश्चित भएको छ । भदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १५/१५ हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको थियो ।
त्यसलगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात गर्ने अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्‍यो । तर हालसम्म परराष्ट्र मन्त्रालयले स्वीकृति दिएको छैन । जीटूजी (सरकारले सरकारबाट) खरिद गर्ने भएका कारण परराष्ट्रको स्वीकृति आवश्यक पर्छ । तर परराष्ट्रबाट अनुमति नआएका कारण चिनी दसैँ अघि ल्याउन नसकिने साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था कम्पनीले बताएका छन् ।
परराष्ट्र मन्त्रालयबाट स्वीकृति प्राप्त नहुँदा चिनी तत्काल आयात गर्न नसकिने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले बताए । उनले भने, ‘अहिले त्यो चिनी ल्याउन स्वीकृति नै पाइसकेका छैनौँ । अब पाए पनि प्रक्रियाले गर्दा छुटको चिनी दसैँ अघि ल्याउन सकिँदैन ।’

‘टेण्डर आह्वान गरेको सात दिनभित्र स्वीकृति प्राप्त हुन्छ । स्वीकृति पाए २ हप्तामा चिनी आइपुग्छ,’ खाद्य कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज राजभण्डारीले भने, ‘ग्लोबल टेण्डरमार्फत स्वीकृति प्राप्त भयो भने पनि दसैँअघि चिनी आउने टुङ्गो छैन । हाम्रो चिनी दसैँमा नआए पनि निजी कम्पनीले भने ल्याइरहेका छन् । त्यसैले अभाव हुँदैन,’ उनले भने ।

पौडेलले पनि यो वर्षको भन्सार छुटको चिनी दसैँ अघि नआउने पुष्टि गरे । पहिला गत वर्षको कोटा बमोजिमको चिनी ल्याउने र दोस्रो चरणमा मात्रै छुटको १५ हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु हुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्