लक्ष्मी उप्रेती
मेचीनगर । झापाको काँकरभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरुले चाडवाड मनाउँदा विकृतिरहित ढंगले मनाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त संयोजनमा चाडपर्व लक्षित सुरक्षा तथा बजार व्यवस्थापन र सुक्षामा प्रबिधिको प्रयोगसम्बन्धी सरोकारवालाहरुसँगको छलफल तथा शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्थानीय स्तरमा देखिने समस्या समाधानका लागि स्थानीय क्षेत्रकै व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने र त्यसलाई सहजीकरण गर्न सम्बन्धित निकायले भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भएपनि एकअर्काबीच सदभाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीच बलियो एकता रहेको बताउँदैं प्रजिअ बास्तोलाले विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा देश विदेशमा रहेका नेपालीप्रति शुभकामनासमेत व्यक्त गरे ।
चाडपर्वका बखत खाद्यलगायत अन्य वस्तुको अभाव, मूल्यबृद्धि, कालोबजारीलगायतका समाजमा नकारात्मक प्रभाव पर्ने कुनै पनि गतिविधि गर्न नहुने उनको भनाई थियो । यदि यसो गरेमा कानूनअनुसार कारवाही हुने प्रजिअ बास्तोलाले चेतावनी दिए ।चाडपर्वको सयममा हुने कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्नेगरी प्रभावकारी कदम चाल्ने समेत उनले स्पष्ट पारे ।
छलफलमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन बढाउने, बजारमा हुनसक्ने कृत्रिम कालोबजारी, महँगी, मिसावट नियन्त्रणमा गम्भीर हुन मातहतका सम्बद्ध निकायलाई निर्देशन दिएको जानकारी गराए ।
विजयादशमी तथा दिपावलीलगायतका चाडपर्वमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनमा विशेष ध्यान दिन समेत उनले सम्बन्धित पक्षलाई आग्रह गरे । चाडपर्वका समयमा अत्यधिक यात्रु संख्यासँगै तीव्र गति तथा मापसेका कारण दुर्घटना निम्तिने सम्भावनालाई न्यूनीकरण गर्ने तयारीसहित सुरक्षा व्यवस्था कडा पार्न लागिएको जानकारी दिए । उनले हरेक नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले लिने हुँदा यस वर्षको चाडपर्व दुर्घटनारहित बनाउन सवैमा अपिल गरे ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले चाडपर्वका नाममा हुने विकृति विसंगति र आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरी सक्रिय रहेको बताए । हाम्रा धार्मिक साँस्कृतिक परम्परामा कतै केही कुरीति छन् भने पनि त्यसलाई अन्त्य गरी सुधार गर्दै अबका दिनमा विश्वले हाम्रा मौलिक परम्पराको अभ्यास र अनुशरण गर्ने वातावरण बनाउनको लागि आ–आफ्नो ठाउँबाट सबै लाग्न जोड दिदैं उनले मौलिकता र पहिचानका रुपमा रहेका चाडपर्व र संस्कृतिलाई विकृतिको रुपमा अगाडि नबढाउन आग्रह गरे ।
मेचीनगर नगरपालिका वडा नम्बर ७ र ८ का वडाध्यक्ष क्रमशः प्रल्हादमणि ओली, गिरीराज धमला, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी, पूर्व मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई नेकपा एमाले वडा नम्बर ६ का वडाध्यक्ष राजु पौडेललगायतले आ–आफ्ना विचार राखेका थिए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा सहभागी सवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले स्वागत र र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्तिनाथ पौडेलले सहजीकरण गरेका थिए ।