झापा, असोज ८ । झापा गौरादह नगरपालिका वडा नं ८ का वडाध्यक्ष गणेशकुमार राजवंशीले जालसाज गरी एकजना महिलाको विवाह दर्ता गराएका छन् ।
विवाह गरेको भनिएका व्यक्तिको बिना मन्जुरी र बिना उपस्थितिमा झुटा प्रमाणमा जालसाज गरी विवाह दर्ता बनाइदिएको भन्दै वडाध्यक्ष राजवंशीमाथि झापा जिल्ला अदालतमा मुद्धा परेको छ । साविक जुरोपानी २ हाल गौरादह वडा नं. ८ बस्ने ६८ वर्षीय कुलेन्द्रप्रसाद राजवंशीले आफूलाई स्थानीय ३० वर्षीया गंगादेवी कोचले हनीट्रयापमा पारेर आफ्नो घरजग्गा कव्जा गरेको भन्दै विगत तीन महिनाअघि झापा जिल्ला अदालतमा मुद्धा हालेका थिए । तर, गंगादेवीले आफूलाई विवाह गरेको दावी गर्दै आएकी छन् ।
सो मुद्धा विचाराधिन अवस्थामा रहेको छ भने गंगादेवीले घरजग्गा कव्जा गरेपछि कुलेन्द्र आफन्तकोमा आश्रय लिइरहेका छन् । त्यस्तो परिस्थितिमा वडाध्यक्ष गणेशकुमार राजवंशीले गंगादेवीलाई विवाह दर्ता गराइदिएका हुन् । उनले वडा कार्यालयबाट गत भदौ १२ गते गंगादेवीलाई विवाह दर्ता गरिदिएका हुन् । गंगादेवीले भदौ ९ गते वडा कार्यालयमा निवेदन दिएकी थिइन् भने सोही दिन वडा कार्यालयले सर्जमिन गरेको बताइएको छ । विवाह दर्तामा कुलेन्द्रसँग गत जेठ २२ गते धार्मिक बिधिपूर्वक कनकाई धाम धार्मिक विकास संस्था कोटीहोममा विवाह भएर दुवै जना श्रीमान श्रीमती भई घरजम गरी बसोबास गरिरहेको उल्लेख छ । जबकि कुलेन्द्र गत असार महिनादेखि घर जान सकिरहेका छैनन् । कुलेन्द्रको विना उपस्थिति र विना मन्जुरी विवाह मिति प्रमाणित गरि दुवैको फोटो टाँसेर वडाध्यक्ष राजवंशीले विवाह दर्ताको प्रमाण दिएका छन् ।
प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्वन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पति पत्नीको रुपमा स्वीकार गरी गरिएको घटना दर्तालाई विवाह दर्ता भन्ने बुझिन्छ । स्थानीय वडामा विवाह दर्ता गराउँदा दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ,दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो आवश्यक पर्दछ ।यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्छ । यदि दुईमध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित भएको पक्षको अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिनेछ ।
विवाह दर्ता नभई पति वा पत्नी बेपत्ता भएमा अदालतबाट पति पत्नी नाता कायम भएका निर्णयका आधारमा विवाह दर्ता गराउन सकिन्छ ।
त्यस्तै पति वा पत्नीले विवाह दर्ता गर्न ईन्कार गरेमा पति वा पत्नीमध्ये पीडितले जिल्ला अदालतमा उपस्थित भई पति वा पत्नीको नाता कायम गरी पाँऊ भनी निवेदन दिनुपर्नेछ । सो निवेदनको आधारमा अदालतले गरेको निर्णय अनुसार विवाह दर्ता गर्न सकिन्छ ।
तर, वडाध्यक्ष राजवंशीले त्यस्तो कुनै पनि कानुनी प्रक्रिया पुरा गर्न नलगाई मनोमानी ढंगले विवाह दर्ता गराएका छन् । वडाध्यक्ष राजवंशीमाथि किर्ते र जालसाज गरेको कसुर प्रमाणित भएमा तीन वर्षसम्मको कैद सजाय हुनसक्ने एकजना कानुन व्यवसायीले बताएका छन् ।
कनकाई धाम धार्मिक विकास संस्था कोटीहोममा कसैले पनि विवाह गर्दा विवाह गरेको प्रमाणपत्र दिन नमिल्ने र त्यसले कानुनी मान्यता पनि नपाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।