झापा, असोज ११ । केही दिनदेखिको अविरल वर्षाका कारण झापामा करिव तीन दर्जन परिवार विस्थापित भएका छन् ।

जिल्ला विपद् कार्यालय झापाले संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ३१ परिवार बिस्थापित भएका छन् । बिस्थापित हुनेहरुमा सबैभन्दा बढी बिर्तामोडका रहेका छन् । बिर्तामोडका १८ परिवार बिस्थापित भएका हुन् ।

केही दिनदेखि अबिरल बर्षाका कारण अधुवा खोलामा आएको बाढीले बिर्तामोड– ३ सिर्जना टोलमा पानीको बहाव पसेर ९ परिवार बिस्थापित भएका छन् । सिर्जना टोल बस्ने कुलबहादुर दर्जी,अम्बिकाबहादुर दर्जी ,लुकाश माझी , कृष्णबहादुर दर्जी ,नरमाया दर्जी ,अनुज माझी , प्रमिला दर्जी , पदमबहादुर दर्जी र इन्द्रराम दासको परिवार बिस्थापित बनेका हुन् । घरमा पानी पसेर क्षति भएको जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबजारबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य गरिएको बिर्तामोड प्रहरीले जनाएको छ । उनीहरुको घरभित्र रहेका अन्तपात ,लत्ताकपडालगायत अन्य सरसामानहरु भिजेको डीएसपी प्रकाश विष्टले बताए ।

त्यस्तै बिर्तामोड– ५ नमुना टोल र वडा नं.४ मान्डा टोल बस्ने पाँच परिवार बिस्थापित भएका छन् । वडा नम्बर–५ नमुना टोल बस्ने गिता अधिकारी, सोही टोल बस्ने कृष्ण सुवेदी,शेरबहादुर अधिकारी, वडा नं.४ को मान्डा टोल बस्ने कलाम मिया र मुना मुस्ताकको परिवार बिस्थापित बनेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

त्यस्तै बिर्तामोड वडा नं ८ बाह्रबिघे बस्ने तीन परिवार बिस्थापित भएका छन् । बाह्रबिघेका गिता भुजेल, चण्डिका दाहाल र मनमाया तामाङको परिवार बिस्थापित बनेको डीएसपी विष्टले जानकारी दिए । अस्थाई प्रहरी चौकी गरामनीबाट टोली खटिएर स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । त्यस्तै बिर्तामोड –५ भुसुनेस्थित शान्तिकुमारी गुरुङको घरभित्र नजिकै रहेको कल्भर्टको पानीको बहाव पसेर घरभित्र रहेका अन्नपात,लत्ताकपडालगायत अन्य सामानहरु भिजेकाले प्रहरी र स्थानीयको सहयोगमा छिमेकीको घरमा लगेर राखिएको छ । गाईगोठमा समेत पानी पसेपछि गाईबाख्राहरु सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।

त्यस्तै कनकाई नगरपालिका वडा नम्बर ३ झर्ना बस्तीमा सन्का खोला र सुरुङ्गा खोलाको पानीको बहाब पसेर ११ परिवार बिस्थापित भएका छन् । कनकाई नगरपालिका वडा नं ३ झर्ना बस्ती बस्ने सनम गुरुङ,अनिस मगर ,सुशिला हस्दा, बलबहादुर लिम्बू , कमल टुडू , बुद्धिलाल टुडू , मिना सोरेन, राजकुमार टुडू ,सुनिराम हस्दा , बिसु मर्डी र पहलमान तामाङको परिवार बिस्थापित बनेका हुन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै कन्काई नदीले कटान सुरु गर्दा दुई परिवार बिस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका– १० बस्ने अमर ऋषिदेव र किरण ऋषिदेवको परिवार बिस्थापित बनेका हुन् ।

शिवसताक्षी – १० बिहानी टोलको पश्चिमतर्फबाट कन्काई खोलाले कटान सुरु गरेको हो । उक्त टोलको १५ घरमध्ये ती दुईवटा घर अति जोखिममा परेपछि शिवसताक्षी नगरपालिका १० नम्बर वडा कार्यालयको समन्वयमा मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको हो ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ७ को होली टोलका अन्दाजी २०–२२ घरमा सताक्षी खोलाको पानी पसेर डुवान भएको छ । घरमा सामान्य पानी पसेको र तत्काल क्षति गर्ने सम्भावना नरहेकोले उनीहरुलाई स्थानान्तरण नगरिएको जिल्ला विपद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्