झापा,असोज १४ । बाढीपहिरोबाट जनताले ठूलो जनधनको क्षति बेहोरिरहेका बेला संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भने गृहजिल्लामा बधाई थाप्न भ्याई नभ्याई थियो ।
राजधानी काठमाडौलगायत देशभर बाढीपहिरोले व्यापक क्षति गरिरहेकै दिन शनिवार र आइतवार मन्त्री दाहाल झापामा बधाई थाप्न व्यस्त देखिए ।
नेकपा एमाले दमक नगर कमिटीले शनिवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनी सहभागी भए । सोही दिन मेचीनगर नगरपालिकाले आयोजना गरेको बधाई कार्यक्रममा सहभागी हुन उनी आइपुगे । त्यसको भोलिपल्ट आइतवार नेकपा एमाले जिल्ला कमिटी झापाले बिर्तामोडमा कार्यक्रम गरी उनलाई बधाई दिए । उनी असोज ९ गते बुधवार काठमाडौबाट बाहिरिएका थिए । गत बुधवार अपरान्ह ४.५६ बजे उनी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हरि पौडेल काठमाडौबाट जनकपुर आएका थिए । शुक्रवार साँझ उनी झापा आइपुगेको प्रहरीले जनाएको छ । काठमाडौ छोडेको चार दिनपछि बल्ल उनी हिजो अपरान्ह ४.३७ बजे चन्द्रगढी विमानस्थलबाट राजधानी फर्किएका छन् ।
विपद्मा परी १९२ जनाको ज्यान गइसकेको र पृथ्वी राजमार्गसहितका देशका दर्जनौं राजमार्गमा सवारी आवागमन अवरुद्ध भइरहँदा यातायात मन्त्री दाहाल भने आफ्नो गृहजिल्लामा बधाई थाप्न व्यस्त रहेपछि त्यसको आलोचना भएको छ । एकजना एमाले कार्यकर्ताका अनुसार मन्त्री दाहाल शनिवार साँझ राजधानी फर्किने कार्यक्रम थियो । तर, विमानहरु रद्ध भएपछि उनी जान पाएनन् । ती कार्यकर्ताका अनुसार देश र जनता विपद्मा परेका बेला मन्त्री दाहालका लागि बधाई कार्यक्रम नगरेको भए राम्रो हुन्थ्यो ।
यो विपद्मा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा छन् । उनी आज फर्किदै छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मन्त्रिपरिषद् बैठक डाकेका छैनन् । तीन दिनसम्म एकीकृत राहत र क्षतिपूर्तिको घोषणा भएको छैन । यो विपदमा सरकारले काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ ।