झापा, असोज १४ । भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बेपत्ता भएका व्यक्तिहरू १० दिनसम्म पनि फेला नपरे उनीहरूलाई पनि मृतकसरहको राहत दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । ती मन्त्रीका अनुसार सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । जसअनुसार तीन दिनसम्म सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरिनेछ ।

बैठकले बाढी पहिरो पीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ ।सबै क्षेत्रको क्षतिको विवरण आइनसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीहरूलाई मंगलबार दिउँसोसम्ममा क्षतिको विवरण संकलन गरेर बुझाउन निर्देशन दिएका छन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी अहिलेसम्म २०९ जनाको निधन भएकोसहित क्षतिको विवरणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्