लक्ष्मी उप्रेती
मेचीनगर । झापा मेचीनगर—६ काँकरभिट्टाकी सदिक्षा उप्रेतीले काठमाडौंबाट झापाको लागि एकसाता अघिदेखि हवाई टिकट खोजिन् । तर, त्यसअघि नै सबै सीट बुकिङ भइसकेकाले एक सातापछिको समेत टिकट पाउन सकिनन् । गौरादहका गणेशप्रसाद अधिकारी दम्पतीको पनि हालत सदिक्षाकै जस्तो छ ।

हिन्दुहरुको सबैभन्दा ठूलो चाड बडादशैं भित्रिन शुरु गरेको छ । घर छाडेर सात समुन्द्रपार पुगेकाहरु दशैँका लागि भन्दैं आफ्नो पुख्र्यौली घर फर्किन थालेका छन् । दशैंका मुख्य दिनहरु नजिकिँदै आउँदैछन् । उल्लास क्रमशः थपिदै जाँदैछ । तर, चाडको रौनकसंगै काठमाडौंमा रहेका सदिक्षाजस्ता थुप्रैका लागि हवाई टिकट नपाए कसरी घर पुग्ने भन्ने समस्या पनि थपिदैछ ।

केही दिनअघि लगातार परेको अविरल बर्षाका कारण बाढी र पहिरोले यतिबेला विभिन्न राजमार्गहरू बन्द छन् । बाढी र पहिरोका कारण यतिबेला विभिन्न राजमार्गहरू बन्द भएसँगै यात्राका लागि एउटै विकल्प बनेको छ हवाईमार्ग । हवाई यात्रा पनि यतिबेला सहज भने छैन । ‘झापा घर जानका लागि राजमार्गबाट सहज नभएका कारण हवाईमार्ग रोजे’ सदिक्षाले भनिन्—‘हवाईजहाजको टिकट नपाएर समस्या भएको छ ।’ काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध छन् । यसको असर सोझै हवाई उडानमा देखिएको हो ।

राजमार्ग अनिश्चितकालीन बन्द भएसँगै हवाई यात्रुहरूको संख्या र टिकट बुकिङ पनि बढेको बुद्ध एयरलाइन्स भद्रपुरका स्टेशन म्यानेजर ओम प्रधानाङ्गको भनाई छ । ‘चाडपर्वको बखत काठमाडौं छाड्ने थुप्रै हुन्छन्, त्यसले पनि यात्रुको चाप अत्यधिक नै हुन्छ, बाढी पहिरोले राजमार्ग अवरूद्ध भएपछि हवाई यात्रुमा बृद्धि भएको छ’ उनले भने,‘हवाई मार्ग भएर जाने यात्रुको चाप देखिएको छ ।’ झण्डै १० देखि १५ दिनसम्मका लागि टिकट बुकिङ भएको छ । यती एयरका भद्रपुरस्थित स्टेशन म्यानेजर रेवत कार्कीका अनुसार हवाई यात्रुहरुले तत्काल टिकट पाउने अवस्था छैन । यसकारण पनि तत्काल हवाई टिकट पाउन त्यति सहज नभएको ट्राभल व्यवसायीहरुको भनाई छ ।

‘बाढी–पहिरोका कारण राजमार्ग बन्द भएपछि बसमा यात्रा गर्न सहज छैन’ काँकरभिट्टाका ऋतिक बुढाथोकी भन्छन्,‘हवाई टिकटको अभाव हुन थालेको छ । राजमार्गहरू अवरोध भएपछि मानिसहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकटको अभाव छ अनि यस पटकको दशैं काठमाडौंमा नै मनाउनुको विकल्प छैन ।’
यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन नसकेको बुढाथोकीको गुनासो छ । बाढी पहिरोको विपदले राजमार्ग बन्द भएको अवस्थामा समेत वायुसेवा कम्पनीहरूले टिकटको मूल्य अत्यधिक बढाएको भनेर विरोध भइरहेको छ । सडक सञ्जाल सञ्चालनमा नआएसम्म यो समस्या तत्काल हल हुने अवस्था छैन ।

तत्काल टिकट लिँदा जुनसुकै समयमा पनि भाडा अलि महँगो नै हुने पानामा ट्राभल मेचीनगर — ६ काँकरभिट्टाका सञ्चालक उदयकुमार श्रेष्ठको भनाई छ । ‘तर, पनि सीट पाउन नसकिरहेको अवस्था छ’ उनले भने । राजमार्गहरू बन्द भएसँगै मौसमका कारण केही दिन नियमित उडान हुन नसकेपछि यात्रुको चाप अत्यधिक बढेको नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स (नाट्टा ) कोशी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठ बताउँछन् । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको र नयाँ यात्रुले तत्काल टिकट पाउनै मुश्किल भएको नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स (नाट्टा ) कोशी प्रदेशका महासचिव नवीन खरेलको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्