लक्ष्मी उप्रेती

मेचीनगर । चाडपर्वलाई दुर्घटनारहित बनाउन ट्राफिक प्रहरी अहिले राडर गनसहित सडकमा उत्रिएको छ ।

अन्य समयको तुलनामा चाडपर्वका बखत सवारी दुर्घटना बढी हुने भएका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अहिले त्यसलाई कम गर्न सडकमा उत्रिएको हो । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलसहित अन्य प्रहरी अधिकृत र प्रहरी जवान सडकमा सक्रिय छन् ।

पछिल्लो समय प्रहरीले सवारी दुघर्टनाको मुख्य कारणहरुमध्ये तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको निष्कर्ष निकाल्दैं त्यसलाई नियन्त्रण गर्न सवारीसाधनको गति मापन गर्ने यन्त्र (राडर गन) को प्रयोग गर्दै सडकमा उत्रिएको ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा झापा जिल्लाभरि कुल पाँचसय ९३ वटा सवारी दुर्घटना भएका थिए । त्यसमध्ये दुई सय ४८ वटा दुर्घटना तीब्र गतिका कारण भएका हुन् । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक पौडेल, ट्राफिक वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीलगायतको टोलीले शनिबारमात्र पूर्व पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर सडकखण्डमा राडर गनको प्रयोगले सवारीको गति मापन गरेको, यात्रुहरुलाई बढी भाडा लिए नलिएको , सीट पाए नपाएको, क्षमताभन्दा बढी यात्रु भए नभएको, सवारीसाधनका आवश्यक कागजात भए नभएको बारेमा चेकजाँच गरेको ट्राफिक प्रहरी नायव निरीक्षक गौतमले जानकारी दिए ।

यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पूर्व–पश्चिम राजमार्ग र ग्रामीण सडकहरुमा अभियान केन्द्रित रहेको कार्यालयले जनाएको छ।

‘तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निष्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याएको छ’ प्रहरी निरीक्षक पौडेलले भने ,‘ तीव्र गतिमा कुदाइएको सवारीसाधनलाई कारबाही गर्ने छौ ।’ प्रहरीले पूर्वपश्चिम राजमार्गमा मात्र नभएर शहर बजारका मुख्य सडक तथा सहायक सडकमा राडर गन प्रयोग गरी तीव्र गतिमा कुदाइएको सवारीसाधनलाई कारबाही गर्ने जनाएको छ । विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा राडर गनको प्रयोग गर्ने र यो अभियानलाई निरन्तरता दिने ट्राफिक वरिष्ठ प्रहरी नायव निरीक्षक सोडारीको भनाई छ ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा २० प्रतिशतसम्म धेरै दुर्घटना हुने गरेको प्रहरीको अनुभव छ । प्रहरीका अनुसार चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दूरीका सवारीसाधनका चालकले पालो नपाउने हुँदा अरू सवारीसाधनको प्रयोग गर्नुपर्दा दुर्घटना बढ्ने गरेको छ ।
अन्य समयमा निजी सवारीको दुर्घटना दर धेरै हुने र दशैँमा सार्वजनिक यातायातको दुर्घटना धेरै हुने गरेको प्रहरीको अभिलेखले देखाउँछ । तर, दशैँका बेला तुलनात्मक रूपमा थोरै सवारीसाधन दुर्घटना भएपनि मानवीय क्षति भने धेरै हुने गरेको छ ।

यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा दुर्घटना बढेको भन्दै प्रहरीले मापसे चेकजाँच गर्न ब्रेथलाइजर मेसिन र त्यसपछि लागूपदार्थको सेवन गरी सवारी चलाउँदा सवारी दुर्घटना बढेको भन्दैं लापसे चेकजाँचलाई तीब्र पारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्