झापा , असोज २३ । चाडपर्वको मुखमा व्यवसायीहरुले उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि गरेका छन् ।

बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका अधिकांश पसलमा उपभोक्ताहरुको ढाड सेक्नेगरी अत्यधिक मूल्यवृद्धि गरेको पाइएको हो । विपद् र चाडपर्वको मौका भन्दै व्यवसायीहरुले कालोबजारी गरिरहेपनि सरोकारवाला निकाय मूकदर्शक बनेका छन् । सरोकारवाला निकायले झारा टार्नेबाहेक केही नगरेको उपभोक्ताको गुनासो छ । चाडबाडको संघारमा अचाक्ली मूल्य बढाइँदासमेत नियन्त्रण गर्न प्रभावकारी कदम चालिएको छैन  ।चाडपर्व र प्राकृतिक विपद्भन्दा अगाडि सामान्य रहेको मूल्य हाल आएर १० देखि सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको हो । पहिला मनसुली चामल २० किलोको बोरा रु २२०० मा पाइन्थ्यो भने हाल आएर २५५० कायम भएको छ । जुनेली चामल पहिलाको मूल्य २४०० हालको मूल्य रु २५५० , जिरा मसिनो चामलको पहिलाको मूल्य रु २००० रहेकोमा हाल रु २१५० भएको छ । त्यस्तै सेलो तेल रु १९०० रहेकोमा रु २२०० र घैला तोरीको तेल रु २१४० रहेकोमा अहिले रु २४५०, त्यस्तै चिउरा प्रति २० केजीमा रु १२०० बाट बढाएर रु १५०० पुर्याइएको छ ।

त्यस्तै चाडपर्व नजिकिएसँगै हरियो सागसब्जीमा समेत दोब्बर मूल्यवृद्धि भएको छ । ५० देखि ७० रुपैयाँ पर्दै आएको टमाटरको भाउ अहिले बढेर रु १५० देखि १७० पर्न गएको छ । रु ७० देखि ८० पर्दै आएको प्याजको मूल्य बढेर अहिले १२० देखि १३० सम्म पर्न थालेको छ । रु १०० मा पाउँदै आएको फूलकोभी अहिले बढेर रु १५० पुगेको छ । सय रुपैयाँ प्रतिकेजी पाउँदै गरेका सब्जीहरु रु २०० भन्दा बढी मूल्य पर्न थालेका छन् । ।

सम्बन्धित निकायले चाडपर्व नजिकिएसँगै बजार अनुगमन गरे पनि प्रभावकारी रूपले अनुगमन नगर्दा विक्रेताहरुले मनोमानी ढंगले बेच्ने गरेको पाइएको हो। अधिकांश पसलमा हुनु पर्ने मूल्यसूची नराखेको पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्