रमेश नेपाल,
आज बिजयादशमी । पहिलो आशीर्वाद म मेरा बुवाबाट प्राप्त होस् भन्ने चाहन्छु । तसर्थ हरेक बिजयादशमीमा म बुवासँगको यो तस्बिर सामाजिक सन्जालमा राख्ने गर्दछु ताकि मलाई अहिले पनि बिजयादशमीको पहिलो आशीर्वाद र मेरो निधारमा आजको दिन बुवाको हात पहिले परेको अनुभूति दिलाउँछ । यो तस्बिर बुवासँगै रमाएको अन्तिम दशैँको थियो । बुवाले दिएको आशीर्वाद मेरो जीवनमा सदैब लागू भइरहोस् ।
बुवा बिना आएको यो पाँचौ दशैँ हो । तर, बुवा बिना दशैमा कुनै रौनकता छैन । बुवा बिनाको यो दशैँ नआओस् जस्तो लाग्छ । बुवा हुँदा अरु बेला जताजता भए पनि दशैँमा पारिवारिक एकता थियो । खै, बुवासँगै ती एकता ए………कता भएर गइदियो । बुवाले घटस्थापनाको दिनबाटै पटक पटक आएर ‘ए केटा फूलपातीको दिनदेखि तलै घर आउनु है’ भनिरहनु हुन्थ्यो । फूलपातीकै दिनबाट हामी ३ भाईकै एउटै भान्सा हुन्थ्यो । कसले के खान्छ,कसलाई के मन पर्छ सबै हेक्का थियो बुवालाई । त्यसैले सबैलाई आ–आफ्नै परिकारको ब्यवस्थापन गरिदिनु हुन्थ्यो बुवाले । नाति–नातिना खुबै रमाउँथे बुवासँग । तर, आज परिस्थिति परिवर्तन भएको छ किनकि आज बुवा हुनुहुन्न ।
दशैको टिकाको दिन बाहेक अरु बेला देखादेख हुँदैन बुवाको सन्तानहरुको ।कसैलाई कसैको मतलब छैन,जेठा कहाँ हुन्छ माईला कता छ कान्छो के गर्दैछ हेक्का पनि हुन छाडिसक्यो । सायद सबैको आ–आफ्नो ब्यस्तताले होला ।बुवा हुँदा पो हामी ३ भाइ एकै परिवार थियौँ ।अब बुवा नै नरहेपछि अब हाम्रो जिम्मेवार हाम्रा सन्तानप्रति बढ्दै गएर होला । मैले यो स्टाटस लेख्दै गर्दा मेरो छोरो मेरो छेउमै मलाई अंगालो मार्दै बाबा आज दशैँ नि भनेर सोध्दै गर्दा मैले बालाई सम्झे बा तपाईं हुँदा मलाई पनि यस्तै लाग्थ्यो ।तपाई हुँदा मलाई दशै लाग्थ्यो ।तपाईं हाम्रो खुशीमा रमाउनु हुन्थ्यो । तर तपाईलाई खासै दशै आउँदैन थियो ।आज म तपाईँको भूमिकामा छु । मेरा सन्तानलाई दशै आएको छ म उनीहरुको खुशीमा रमाएको छु ।
हिजो हाम्रो खुशीमा तपाईं रमाएझै आज म छोराछोरीको खुशीमा रमाएको छु । तर पनि मन खल्लो छ किनकि तपाईं हामी सामु हुनुहुन्न बुवा । तपाईं नभएर होला यो दशैमा खासै निधार रंग्याउनु मन छैन । तर पनि आमा हुनुहुन्छ अनि ससुरालीमा पनि तपाईँले झै मलाई माया गर्ने ससुराबुवा र सासुआमा हुनुहुन्छ । उहाँहरुको आशीर्वाद लिन पाएको छु । म यो अर्थमा भाग्यमानी छु कि स्वर्गबाट तपाईँको आशीर्वाद पाएको छु अनि पृथ्बीबाट ससुरबुवाको । मेरो जीवनमा मलाई सबैभन्दा माया गर्ने मभन्दा माथिका कोही हुनुहुन्छ भने त्यो तपाईंहरु नै हो बुवा ।एक जन्म दिने पिता, अर्का कर्म दिने पिता । दुबै पिताप्रति सम्मान ।शुभ बिजयादशमी !!!