चारैजनाको मोटरसाइकल दुर्घटनामा मृत्यु,दशवटा दुर्घटनामध्ये आठवटा मोटरसाइकल दुर्घटना

झापा,असोज २८ । चाडबाडमा अत्यधिक सवारी दुर्घटना हुने क्रममा झापामा हिजो चौबीस घण्टामा १० वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।


चारैजनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । २४ घण्टाभित्र जिल्लाभरि १० वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ती दशवटा दुर्घटनामध्ये आठवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एक–एकवटा सिटी र ट्रयाक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ ।

कमल गाउँपालिका वडा न. ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

शनिवार मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा न. ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।

त्यस्तै मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । हिजो बिहान ६.३० बजेतिर मेचीनगर– ७ इटाभट्टास्थित एनएमसी डेरी अगाडि होटल मेची क्राउनबाट काँकरभिट्टतर्फ जाँदै गरेको मेची क्राउनमा काम गर्ने मेचीनगर– ६ का २० वर्षीय अभिशेक लिम्बूले चलाएको प्र. ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक मेचीनगर – ७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल यात्री राजवंशी, मोटरसाइकल चालक लिम्बू ,मोटरसाइकलमा पछाडी सवार मेचीनगर– ६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठसमेत तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा साइकल यात्री राजवंशीको बिहान ७ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक र पछाडि सवार दुबै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै दमक नगरपालिका वडा नं.२ ढुकुरपानीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

शनिवार साँझ ५.५० बजे ढुकुरपानीबाट हिमालय मावितर्फ आउँदै गरेको प्रदेश १–०२–४१ प १७४७ नं. को मोटरसाइकलले साइकल यात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईलाई ठक्कर दिएको थियो । घाइते गुरागाईलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा आइतवार साँझ ६.३० बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गएराति अन्दाजी ९.३०बजे मेचीनगर –१ हातेमालो सामुदायिक वन कार्यालयस्थित मेची राजमार्गमा चन्द्रगढीबाट चारआलीतर्फ जाँदै गरेको प्र.१–०१–००२ह.४०९८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटी सफारीमा सवार यात्रुहरु मेचीनगर १३ बस्ने अन्दाजी २४ वर्षीय नारदमणि सुवेदी, सोही ठाउँका अन्दाजी ४५ वर्षीय बुद्धिराम आचार्य घाइते भएका छन् । सुवेदीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने आचार्य घर फर्किएका छन् ।सिटी सफारी चालक मेचीनगर १२ बस्ने अन्दाजी ५० वर्षीय गंगा राउत उपचारमा संलग्न रहेका छन् । सिटी सफारी प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ७ बजे कमल गाउँपालिका वडा नम्बर– ५ पाडाजुँगीस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ७७७७ न.को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री पाँचथर प्राङबुङ घर बताउने अन्दाजी ७० वर्षीय अकलबहादुर मगर घाइते भएका छन् । उनको लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेको छ । मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका वडा न. ११ बस्ने ३४ वर्षीय सुकबहादुर लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

त्यस्तै गएराति १ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुर चौकस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ४५०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर रानीटार गाउँपालिका १४ बस्ने २८ वर्षीय सरोज राई र सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २८ वर्षीय युबराज राई घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ । मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका कारण सो दुर्घटना भएको बताइएको छ ।

त्यस्तै हिजो दिउँसोे अन्दाजी १२ः४५बजे गौरीगञ्ज गाउँपालिका वडा नम्वर ५मलाह टोलस्थित चिल्हारा–जनता चोक भित्री कच्ची सडकखण्डमा चिल्हाराबाट जनता चोकतर्फ आउँदै गरेको को१त ६०९३ नम्वरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा ट्रयाक्टर चालक गौरीगञ्ज ६ बस्ने १९ वर्षीय फुलचन महत्तो र ट्रयाक्टरमा सवार कामदार सोही ठाउँ बस्ने ३५ वर्षीय हरि मिस्त्री घाइते भएका छन् । दुवैजना घाइतेको आधारभूत अस्पताल गौरीगञ्जमा उपचार भइरहेको छ ।

त्यस्तै हिजो बिहान ११ बजे दमक नगरपालिका वडा नं.९ भाटभटेनीस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको को ३०प ९०२९ नं. को मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री कमल गाउँपालिका वडा नं. ५ मंगलबारे बस्ने ८५ वर्षीय हेमसागर खतिवडा गंभीर घाइते भएका छन् । टाउकोमा चोट लागेका खतिवडालाई निम्स अस्पताल दमकमा ल्याई उपचार गरेपश्चात् थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाइएको छ । मोटरसाइकल चालक दमक नगरपालिका वडा नं. २ बस्ने २५ वर्षीय किशोरजंग भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ५.४५ बजे पाडाजुंगी –गौरीगञ्ज भित्री सडकखण्डअन्तर्गत गौरादह–२ मा गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको तत्काल अल्फावेट नखुलेको ९५५३ न. को मोटरसाइकलले ठक्कर दिँदा गौरादह–२बस्ने ४५ वर्षीया मंगली मुर्मू घाइते भएकी छन् । घाइतेको मेडिम्यस अस्पतालमा गौरादहमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक फरार रहेका छन् । उनको खोजतलास भइरहेको जनाइएको छ ।

त्यस्तै हिजो ३ः२० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ११ प ८७९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी ३० वर्षीय सविन राई घाइते भएका छन् । टाउको,अनुहार तथा हातखुट्टामा चोट लागेर गंभीर घाइते भएका राईको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्