डोलेलाई पनि मानव सेवा आश्रमको जिम्मा
विनोद सापकोटा
झापा, असोज २८ । झापाबाट एकैदिन १० जना सडक मानवको उद्धार भएको छ ।

झापालगायत देशैभरका जिल्लालाई सहयोगापेक्षी सडक मानवमुक्त गर्ने उद्देश्यले सुरु गरिएको अभियानको पहिलो दिन १० जना सडक मानवको उद्धार गरिएको नेपाल मानव सेवा केन्द्रले जनाएको छ ।
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त पहलमा उद्धार अभियान सुरु गरिएको हो । उद्धार टोलीले मेचीनगरबाट सडक मानवको उद्धार कार्यको सुरुवात गरेको थियो । यो कार्यलाई तिब्रता दिइने केन्द्रले जनाएको छ ।

सडकआश्रित मानवलाई स्वास्थ्य उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन गराउने उद्धेश्यले उद्धार सुरु गरेको जनाइएको छ । सोमबार एकैदिन झापाका विभिन्न पालिकाबाट १० जना सडक मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ ३२ दिनसम्म यो अभियान संचालन हुने छ । उद्धार टोलीमा करिव ४० जना परिचालक परिचालित छन् । स्थानीय तहको समन्वयमा सडकआश्रित मानवको उद्धार भइरहेको आश्रमले जनाएको छ ।

आश्रमका अनुसार मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २ जना र शिवसताक्षी नगरपालिकाबाट २ जनाको उद्धार गरिएको हो । उद्धार भएका सडकआश्रित मानवहरुलाई आजै झापाको बाहुण्डाँगीस्थित मानव सेवा केन्द्रमा गृहप्रवेश गराइएको छ ।
शिवसताक्षीबाट उपप्रमुख नरमाया कार्की, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन कुँवर न्यौपाने, शिवसताक्षी १० नम्बर वडाका अध्यक्ष हर्क सिगुलगायतको टोलीले सडक मानवको उद्धार गरी मानव सेवा आश्रमको टोलीलाई बुझाएको थियो ।

यसैगरी बिर्तामोड ९ स्थित सतालसिंहबारीको डोले चोकमा बस्दै आएका अपांगता भएका डोले राजवंशीलाई पनि उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला ,बिर्तामोड ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाँई , वडा सदस्य सल्पना राजवंशीलगायतको उपस्थितिमा डोले राजवंशीलाई मानव सेवा आश्रमका संचालक र आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्मालाई जिम्मा दिइएको हो । अपांगता भएका डोलेलाई स्थानीयले तीन कोठाको पक्की घर बनाइदिएका थिए । सो घरमा डोले र उनकी आमा बस्दै आएका थिए । आमाको निधनपछि डोले अझ बेसहारा बनेका थिए ।
सडक पेटी, पौवा, मठ मन्दिर, चौतारामा बेवारिसे अवस्थामा बस्दै आएका बेसहारालाई केन्द्रले उद्धार गर्ने गरेको छ ।

झापामा धेरै संख्यामा सडक मानव छन् । उनीहरुले राम्रोसंग औषधी उपचार, खानपान र बसोबास गर्न पाएका छैनन् । पारिवारिक कलहका कारण घर छोडेर हिडेका, परिवारका सदस्यबाट अपहेलित भएका, आफन्त नातागोता कोही नभएका, हराएका मानवलाई मानवसेवा आश्रमले उद्धार गर्ने गरेको छ ।
मानव सेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गरेको संस्थापक अध्यक्ष अधिकारीले बताए । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै आएको सो संस्थाले जनाएको छ । मानव सेवा आश्रम विगत १२ वर्षदेखि संचालित मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

यसअघि ३ वटा मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न भइसकेको छ । पहिलो मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ७५८ जना र अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रामा ३०४ जनाको उद्धार भएको सो संस्थाले जनाएको छ ।

यस पटकको मेची महाकाली राष्ट्रिय उद्धार यात्राले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई थप टेवा पुग्ने बताइएको छ ।
साथै मंगलबार मोरङ जिल्लाको पथरी, बेलबारी, विराटनगरमा उद्वार सेवा रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्