झापा, असोज ३० । बिर्तामोड –८ गरामनीस्थित दुर्गा मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार एकजना स्वयंसेवकले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्षले चोर भनेको विषयले विवाद निम्त्याएको छ ।

विवाद बढ्दै गई दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिको सचिवालयमा तोडफोड हुनुका साथै तालाबन्दी गरिएको छ । प्रत्येक बर्षको बडादशैको महानवमीको दिन त्यहाँ भव्य पूजा आयोजना हुने गरेको छ । सोही दिन मन्दिरमा भक्तजनले चढाएको चाँदीको हार राजवंशी समाज विकास समितिबाट परिचालित स्वयंसेवक टेप्रा राजवंशीले गोजीमा हाल्न खोज्दा मन्दिर समितिका उपाध्यक्ष निलम उप्रेती सुरेशले चोरीको आरोप लगाएका थिए । सोही विषयलाई साम्प्रदायिक र राजनीतिक रंग दिएर भड्काउन खोजिएको छ । मन्दिर समितिका अध्यक्ष देवीप्रसाद पाण्डे दीपक र उपाध्यक्ष निलम उप्रेतीलगायतले स्वयंसेवक राजवंशीमाथि चोरीको आरोप लगाएर सिंगो राजवंशी समुदायलाई नै चोर भनेको राजवंशी समाज विकास समितिको बुझाई छ ।

सोही विषयमा हिजो छलफल बोलाइएको थियो । कोशी प्रदेशका खानेपानी , सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौलालगायतको पहलमा बोलाइएको छलफलमा मन्दिर समितिका पदाधिकारीहरु सहभागी नभएपछि सचिवालयमा ताला लगाइएको हो । भेलामा सहभागी आक्रोशित भीडले सचिवालयको बोर्ड तोडफोड गरेको थियो । राजवंशी समुदाय आक्रोशित भएर तोडफोडमा उत्रिएपछि आफ्नो अगुवाईमा सचिवालयमा ताला लगाइएको उपप्रमुख संग्रौलाले बताए । उनले चोरीको आरोप खेपेका राजवंशीले मन्दिर समितिका अध्यक्ष पाण्डे र उपाध्यक्ष उप्रेतीमाथि बिर्तामोड नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए । गत वर्ष जिल्ला प्रशासन कार्यालयमा दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समिति विधिवत रुपमा दर्ता भएको हो । सो समितिले दुईवटा दशैमा दुईवटा पुराण लगाएको थियो । यसअघि कामचलाउ समिति गठन गरी वर्षेनि पूजा आयोजना गर्ने गरिएको थियो ।

पाण्डेको अध्यक्षतामा समिति बन्नुअघि खानेपानी मन्त्री कार्कीको अगुवाईमा बनेका समितिले मन्दिर संचालन गर्ने गरेका थिए । ती समितिले १२ वटा महापुराण आयोजना गरेका थिए । कार्कीले संरक्षण गरेका ती समितिले हालसम्म हरहिसाव सार्वजनिक गरेको छैन । विगतका समिति अपारदर्शी ढंगबाट चलेको भन्दै अहिलेका अध्यक्ष पाण्डेको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । पाण्डे राप्रपा निकट हुन् । पहिलेका समिति एमाले निकटका थिए । ‘जसको हात उसकै जगन्नाथ’ भनेझै गरामनीको दुर्गा मन्दिरमा वर्षौदेखि दान भेटी आफूखुशी गर्ने गरिएको गुनासो छ ।

यसैबीच दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिका उपाध्यक्ष उप्रेतीले महानवमीका दिन स्वयंसेवकको रुपमा खटिएका राजवंशीलाई आफूले चोर भनेकोमा गल्ती स्वीकार गरेका छन् । उनले अन्जानबश त्यस किसिमको गलत शव्द प्रयोग गर्दा सिंगो समुदायको भावनामा ठेस पुग्न गएकाले सार्वजनिक रुपमा क्षमा याचना गरेका छन् । दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष उप्रेतीले सार्वजनिक रुपमै माफी मागेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले मन्त्री कार्कीले सो घटनालाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । उनले भ्रमको राजनीति नगरी सामाजिक र जातीय सद्भाव कायम राख्दै सामाजिक हिसाबले त्यस विवादलाई निरुपण गर्न आव्हान गरेका छन् । उनले सचिवालयमा लगाएको ताला खोल्ने वातावरण बनाइदिन बिर्तामोड नगरपालिकालाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्