झापा, असोज ३० । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार ८ जना सडक मानवको उद्धार गरिएको छ ।

सुनसरी जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको मानव सेवा आश्रम विराटनगरले जनाएको छ।
यो यात्रा ३२ दिनसम्म सञ्चालन हुने नेपाल मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार यात्राका क्रममा टोलीले बुधबार सुनसरीको दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार गरेको थियो ।

दुहबी नगरपालिका–७ बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरि १२ जनाको उद्धार भएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष अधिकारीले जानकारी दिएका छन्।

यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०, दोस्रो दिन मोरङबाट ६ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको थियो ।

उद्धार गरिएका सडकआश्रित मानवहरुलाई मानव सेवा आश्रम विराटनगर सेवा केन्द्रमा बुधवार नै संरक्षणको लागि पठाइएको छ ।

बिहीवार उदयपुर जिल्ला वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य मानवहरुको उद्धार गरिने कार्यक्रम रहेको छ ।

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको टोली छ ।

मानव सेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
यो पटकको मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मानव सेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने विश्वास लिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्