झापा, कात्तिक १ । एक दशकको अन्तरालमा धनकुटाबाट भेडा लोप हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ मा धनकुटामा भेडाको संख्या जम्मा १२८ मात्र रहेको पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल धनकुटाको तथ्याङ्कमा छ । अघिल्लो आवमा यो तथ्याङ्क ५२८ थियो । करिब एक दशकअघि यो तथ्याङ्क करिब दुई हजारको हाराहारीमा थियो । यो क्रम तेह्रथुममा समेत उस्तै छ । केही वर्षअघिसम्म तेह्रथुमको उच्च क्षेत्रमा हजारौँको संख्यामा भेटिने भेडा अहिले ७०७ मा सीमित भएका पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल तेह्रथुमले जनाएको छ ।

एक समय धनकुटा तथा तेह्रथुमका उच्च क्षेत्रमा जताततै भेडा देख्न पाइन्थ्यो । धेरैको जीविकोपार्जन भेडापालनबाटै हुन्थ्यो तर पछिल्लो समय यो पेसा नै सङ्कटमा परेको छ । अहिले पालन गर्नेले पनि व्यावसायिक नभई गाईबाख्रासँगै अलि अलि मात्र पाल्ने गरेका छन् तर पालिएका भेडा बिव्रmी गर्न न बजारको समस्या छ न पाल्न नै समस्या छ । भेडापालन गर्न समस्या नभए पनि भेडापालन व्यवसाय हराउँदै गएको तेह्रथुमका कृषक नरबहादुर रानामगर बताउछन् । पुख्र्यौली रूपमा आफूले पाल्दै आए पनि पहिले पहिले भेडा पाल्ने अन्य स्थानीयले अहिले पाल्न छाडेको उनको भनाइ छ ।

धनकुटा तथा तेह्रथुम भेडापालनका लागिका उपयुक्त क्षेत्र हुन् । पछिल्लो समय भेडापालन लोप हुँदै जानुको मुख्य कारण खर्कहरू मासिनु तथा पेसा परिवर्तन हुनु हो । अहिले उच्च क्षेत्रमा राम्रो तरकारी खेती हुने गरेको छ । जहाँ पहिले खर्क हुन्थ्यो र त्यहीँ भेडापालन हुने गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्