मेचीनगर, कात्तिक १ । झापामा यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी एकैदिन ४ सहित ७ जनाले ज्यान गुमाएका छन् ।

घटस्थापनादेखि हिजो असोज ३० गतेसम्म ७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला रहेको कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । उनका अनुसार विजयादशमीका दिन सबैभन्दा बढी १० वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका थिए ।

त्यस्तै असोज महिनामा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । असोज महिनामा सवारी दुर्घटनामा ९ पुरुष र २ महिलासहित ११ जनाको ज्यान गएको प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले जानकारी दिए । असोज महिनामा १८० वटा सवारी दुर्घटना भएका थिए । जसमा ११ जनाको मृत्यु, १२ जना गम्भीर घाइते र १९२ जना सामान्य घाइते भएका थिए ।

गत वर्षको दशैको तुलनामा यस वर्ष दुर्घटना बढेको देखिएपनि मृत्यु संख्या घटेको छ । अघिल्ला वर्षहरुमा गंभीर प्रकृतिका दुर्घटनाहरु इन्ट्री गराउने गरिएकोमा यस वर्षदेखि सामान्य दुर्घटना पनि इन्ट्री गराउँदा संख्या बढेको देखिएको कार्यालयले जनाएको छ । चाडबाड मनाउने क्रममा चालकले लापरवाही गर्ने , मादक पदार्थ सेवन गरी चलाउने , तीब्र गतिमा चलाउनेजस्ता कारणले दशैमा दुर्घटना बढेको वरिष्ठ प्रहरी नायव निरीक्षक सोडारीको भनाई छ । उनका अनुसार अधिकांश दुर्घटना दुई पांग्रे सवारी साधन भएका छन् ।

गत साउनदेखि असोजसम्मको ३ महिनामा २७ जनाले ज्यान गुमाएको तथ्यांक छ । साउनमा १० जना, भदौमा ६ जना र असोज महिनामा ११ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्