विनोद सापकोटा,
झापा । कोशी प्रदेशका विभिन्न पालिकामा हात्तीको बथानले किसानलाई निकै दुःख दिइरहेका छन् ।

रातको समयमा आहाराका लागि गाउँ पसेका हात्तीको बथानले पाक्न लागेको धान कुल्चिने, माडिदिने र खाइदिनाले किसान समस्यामा पर्न थालेका हुन् । स्थानीयले भने,‘ पाकेर थन्क्याउने बेला भएको धान हात्तीले सत्यनाश बनाईदियो ।’ चुरे पहाडसँग सिमाना जोडिएको तराईका झापा, मोरङ, सु्नसरी र उदयपुरका पालिकाहरू सबैभन्दा बढी प्रभावित छन् । कतिपय हात्तीको हन्जा दिउँसै गाउँ पसेर बितण्डा मच्चाइरहेको पीडितले बताए ।

झापाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कन्काई, शिवसताक्षी, कमल, दमक हात्ती प्रभावित पालिका हुन् । यस्तै भद्रपुर, कचनकवल बाह्रदशी पनि हात्तीबाट प्रभावित छन् । इलामको रोङ र चुलाचुली पनि प्रभावित पालिका हुन् ।

‘केही दिनदेखि हात्तीको वितण्डा अचाक्ली छ,’ झापा शिवसताक्षीका हात्ती पीडित रामकुमार फुयाँल भन्छन, ‘ हात्ती ठुलो जनावर हो । खेदाउन सकिने अवस्था हँुदैन । उसले चाह्यो भने जे पनि गर्न सक्छ । वर्षभरि खानलाई रोपेर पाकेको धानबाली नष्ट पारेको हेरेर बस्नु र ज्यान जोगाउनको विकल्प छैन ।’
मोरङको उर्लाबारी, मिक्लाजुङ, लेटाङलगायतका पालिकाका किसानको पीडा पनि झापाको जस्तै छ । उर्लाबारी वडा नम्बर २ स्थित डुम्रे क्षेत्रमा जंगली हात्तीले विगत ३ दिनदेखि निरन्तर वितण्डा मच्चाइरहेको छ ।

हात्तीले स्थानीयको अन्नपात राखिएको कटेरो भत्काउनुका साथै बालीमा समेत क्षति पुर्याउँदै आएको छ । विशेषगरी रातको समयमा बस्ती छिरेर हात्तीले दुःख दिँदै आएको स्थानीयले बताए । हात्तीले पुर्याउने क्षति नियन्त्रणका लागि स्थानीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।‘वर्षौंदेखि हात्तीले डुम्रेमा वितण्डा मच्चाइरहेको छ । बिहान झिसमिस र बेलुका हिँडडुल गर्न समेत त्रास । गत वर्ष स्थानीयको घरसमेत भत्काएको थियो । अहिले धानबालीमा पसेर काट्न लागेको धान सोत्तर भएको छ,’ स्थानीय महेश भण्डारीले भने, ‘ तीन दिनदेखि लाखौको धानबालीमा क्षति पुर्याइसकेको छ ।’

बिहीवार राति करिव १० बजे आएका १८ वटा हात्तीको बथानले डुम्रेका सक्षमसहित चन्द्रबहादुर भुजेल र भक्तबहादुर भण्डारीको पाकेको धानबाली खाएर नोक्सान पुर्याएको वडाध्यक्ष राजनकुमार कँडेलले बताए ।
उनका अनुसार बिहीवार राति आएको हात्तीको बथानले स्थानीयको लाखौबराबरको धानबाली खानुका साथै माडेर सोतर बनायो । अस्थाई प्रहरी चौकी मंगलबारे, सामुदायिक वनका पदाधिकारी , जनप्रतिनिधिलगायत स्थानीयले साइरन बजाएर , ठाउँ–ठाउँमा आगो बालेर कोलाहल मच्चाउँदै हात्ती खेदाउने प्रयास प्रायः असफल हुने गरेको छ ।

वडाध्यक्ष कँडेलले प्रहरीसँगको समन्वयमा हात्तीले पुर्याएको क्षतिको यकिन विवरण संकलन गरि कार्यपालिकामा पेश गर्ने र स्थानीयलाई राहत दिने बताए । बस्तीमा हात्ती पस्ने सम्भावित क्षेत्रहरुमा यथाशिघ्र स्वचालित साइरन र उज्यालो बत्ती जडान गर्ने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्