झापा, कात्तिक ३ । झापाको कमल गाउँपालिका– ५ रबि पेट्रोल पम्पअगाडि बसले ठक्कर दिएपछि घिसारेर मोटरसाइकल चालकलाई मारेको खुलेको छ ।

आज दिउँसो १२.३० बजे पूर्वपश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकलका चालक मोरङ केराबारी गाउँपालिका ७ बस्ने ५५ वर्षीय पदम मुकारुम राईलाई ठक्कर दिएपछि करिव ५० मिटर घिसारेर मारेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जसबाट मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको छ ।

यसरी घिसारेर मारेपछि स्थानीयबासी आक्रोशित बनेका थिए । उनीहरुले बसको सीसा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । आगजनीबाट बसको अगाडीको भागमा सामान्य क्षति पुगेको छ । उनीहरुले करिव आधा घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।

बसले ठक्कर दिएपछि लडेका मोटरसाइकल चालकलाई घिसारेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । बस चालक गौरादह –१ बस्ने ३५ वर्षीय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

बसले लापर्वाही र जानीजानी मारेको भन्दै स्थानीयबासी आक्रोशित भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा ५१ जना र ट्राफिक प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षकसहितको प्रहरी टोली खटिएर सम्झाई बुझाई चक्काजाम खुलाएको थियो ।

रातो रंगका बसहरुले तीब्र गतिमा जथाभावी चलाउने गरेको पटकपटक गुनासो आएपनि उनीहरुलाई ट्राफिक प्रहरीले कार्वाही गर्न सकिरहेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्