झापा, कात्तिक ७ । यो वर्षको तिहारमा पटाकाजन्य पदार्थ पड्काएर रमाइलो गर्न नपाइने गरी कडा बन्देज लगाइने भएको छ । गत सालहरूमा हरेक जिल्ला प्रशासनले पटाकाजन्य पदार्थ नपड्काउन सामान्य सूचना जारी गरे पनि पटाका अवैध किनबेच र पड्काउने कार्य हुने गरेका थिए । यस पटक सरकारले देशव्यापी रूपमा सर्कुलर जारी गरेरै पटाकाजन्य पदार्थ ओसारपसार र प्रयोगमा बन्देज लगाउने तयारी गरेको छ ।
दसैँअघि नै नेपालबाट मनसुन बाहिरिसकेकाले मौसम सुक्खा र चिसो हुँदै छ । जसका कारण वायुमा सुक्खापनसँगै प्रदूषणको मात्रा बढ्न थालेको छ । वातावरण र मानिसको जिउधनमा असर पार्ने भएकाले पनि तिहारमा पटाकाजन्य पदार्थमा पूर्ण रूपमा बन्देज लगाइने तयारी सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनले भने, “हामी हरेक जिल्ला प्रशासनमा सर्कुलर पठाउने तयारीमा छौँ, सोही अनुसार पटाकाजन्य पदार्थको ओसारपसार र प्रयोगमा कडाइ गरिने छ ।”

नेपालको छिमेकी भारतमा गत सातादेखि नै पटाकाजन्य पदार्थ यो वर्षको दीपावली र आसपासका पर्वमा गर्न नपाइने गरी कडाइ गरिसकिएको छ । जसका कारण त्यहाँ उत्पादित पटाकाजन्य पदार्थ नेपालमा अवैध रूपमा भित्रिने खतरा उच्च रहेको छ । खुला सीमानाकाबाट तराईका जिल्लामा पटाकाजन्य पदार्थको ओसारपसार तीव्र बनेको स्थानीयले बताएका छन् ।

पटाकाजन्य पदार्थको अवैध ओसारपसारमा खुला सिमाना निकै चुनौतीपूर्ण रहेको गृह प्रवक्ता तिवारीले बताए । भारत सरकारले बन्देज लगाएपछि यता त्यसको खपत बढ्ने सम्भावनालाई ध्यनमा राखेर सीमानाकामा पटाकाजन्य पदार्थको ओसारपसारका कडाइ गरिने जानकारी तिवारीले दिए । सीमानाकामा सुरक्षाकर्मीको डेस्क नै तैनाथ गरेर अवैध ओसारपसार नियन्त्रण गर्ने तयारी सरकारले गरेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्