झापा, कात्तिक ८ । डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ साउन ४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर दुध तथा दुग्ध पदार्थ पैठारीमा रोक लगाउन आग्रह गरेको थियो । त्यतिबेला लगभग भारतबाट दुध तथा दुग्ध पदार्थ आयातमा प्रतिबन्ध जस्तै नै थियो । पछि नेपालमा दुध अभाव भएपछि आयात खुला गरिएको थियो ।
नेपालमा दुध पर्याप्त हुन थालेपछि पुनः २०८० फागुन ३ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र लेखेर दुध तथा दुग्धजन्य उत्पादनको आयात स्थगन गर्न निर्देशन दिएको थियो । त्योबेलादेखि हालसम्म आयात स्थगन नै रहेको छ ।
अहिले आएर भारतले विभिन्न बहानामा आयात खुला गराउन नेपाल सरकारलाई दबाब दिँदै आएको कुरा बाहिर आएपछि डेरी उद्योगीले त्यसलाई रोक्न दबाब बढाइरहेका छन् । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र नेपाल डेरी सङ्घले कृषिमन्त्री रामनाथ अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारीलगायत नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई भेटेर दुध आयातमा रोक लगाउन माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले पनि उद्योग मन्त्रालय, कृषि मन्त्रालयलाई पत्र पठाएर दुध तथा दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेको छ । नेपाल डेरी एसोसिएसनले पनि त्यही दिन उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, पशु सेवा विभागलाई पत्र लेखी आयात प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्