झापा,कात्तिक ८ । पछिल्लो समय भारतले नेपाली वस्तु निर्यातमा अवरोध सिर्जना गरेको छ । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को प्रमाण पत्र लिएर मात्र निर्यात गर्ने व्यवस्थाले निर्यातमा अवरोध आएको उद्योगीहरू बताउँछन् । भारतको यो नीतिले गर्दा नेपाली वस्तु प्लाइउड, जुत्ता, सिमेन्ट, स्यानिटरी प्याड लगायतका निर्यातकर्तालाई समस्या परेको छ ।
बीआईएस भनेको भारत सरकारबाट मान्यताप्राप्त भएको मापदण्डको प्रमाण पत्र हो । भारतमा कुनै पनि वस्तु बिक्री वितरणका लागि बीआईएस अनिवार्य रूपमा लागू गरिएको छ । तर बीआईएस लिनका लागि तत्काल सहज नभएको उद्योगीहरूको गुनासो छ ।
भारतले यो व्यवस्था पहिलो पटक २०२३ अक्टोबरबाट लागू गरेको थियो । सन् २०२३ को २३ मा सूचना जारी गर्दै आयातित स्यानिटरी प्याड र डाइपरमा बिआईएस लागू गरेको थियो । यसैगरी २०२४ मार्च २४ मा आयातित र भारतमै उत्पादित वस्तुमा बीआईएस लागू गरेको थियो ।
त्यसपछि स्वदेशी उत्पादककर्ता र विदेशी निर्यातकर्ताले विरोध जनाएका थिए । यससँगै भारत सरकारले २०२४ सेप्टेम्बर ३० सम्मका लागि बीआईएस नचाहिने र त्यसपछि लागू गर्ने घोषणा ग¥यो । त्यसैअनुसार अहिले भारतमा निर्यातकर्ता उद्योगीहरूले बीआईएस प्राप्त गर्न निवेदन दिन थालेका छन् । तर भारत सरकारले बीआईएस वितरणमा आनाकानी गर्दै आएको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष रुद्रप्रसाद न्यौपाने बताउँछन् ।
न्यौपानेका अनुसार बीआईएस लिनका लागि भारत सरकारले फ्याक्ट्रीदेखि वस्तुको गुणस्तरसम्म अवलोकन गरेर त्यहाँको मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था गरेको छ । तर भारत सरकारले नेपाली निर्यातकर्तालाई मापदण्डअनुसार काम गर्न पनि भनेको छैन ।
‘बीआईएस लिनका लागि भारतको स्ट्याण्डर्ड के कस्तो हो । त्यसबारे हामीलाई थाहा पनि छैन र यस्तो बनाउन पनि भनेको छैन,’ न्यौपाने भन्छन्, ‘बिस्तारै बिस्तारै निर्यात अवरोध गर्दै गएको छ । यस्तै रहे एक दिन सबै वस्तु निर्यात रोक्नेछ ।’
भारतले विशेषगरी बीआईएसको व्यवस्था चीनको वस्तु आयात प्रतिस्थापनका लागि गरेको हो । चीनबाट कम गुणस्तरको सामग्री सस्तो मूल्यमा आयात हुने र भारतीय उत्पादन बिक्री नहुने समस्या समाधान गर्नका लागि भारत सरकारले यस्तो नीति अपनाएको थियो । तर यसको असर अहिले नेपाललाई पनि पुगेको नेपाल समुन्द्रपार निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठिया बताउँछन् ।
‘चाइनिज वस्तु भारतमा सहजै आयात नहोस् भनेर भारतले बीआईएस अनिवार्य गरेको थियो । तर एक देशलाई नियम लाग्ने अर्को देशलाई नलाग्ने भन्ने हुँदैन । त्यही चक्करमा नेपाली निर्यातकर्ता पनि फसेका हुन्,’ सेठियाले भने ।
तर यस समस्या समाधानका लागि निर्यातकर्ताहरूले सरकारलाई आग्रह गरिरहेका छन् । नेपाल उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले भारतबाट आयात प्रतिबन्ध गरिएका वस्तु आयात खुला गराउन सरकार गुहारिरहेका छन् ।
भारतले नेपालका एकै पटक सबै वस्तु निर्यातमा बीआईएस आवश्यक पर्ने व्यवस्था लागू गरिसकेको छैन । तर पछिल्लो समयमा दिनहुँ एक–एक वस्तु निर्यातमा यस्तो व्यवस्था थप्दै गएको अध्यक्ष सेठिया बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्