झापा, कात्तिक ९। विपदमा परेका झापाका चार मृतक परिवारलाई दुई लाखका दरले राहत बितरण गरिएको छ ।

असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण गरेको हो। त्यसक्रममा झापाका चार परिवारले पाएका हुन् ।राहत पाउनेहरुमा कमल गाउँपालिका– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी,कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशी, झापा गाउँपालिका–४ बस्ने मन्जुहक मिया र गौरीगञ्ज –८ बस्ने लीलाबहादुर गिरीको परिवार रहेका छन् ।

चौधरी र राजवंशीको डुबेर मृत्यु भएको थियो भने मिया र गिरीको चट्याङ लागेर ज्यान गएको थियो । मृतक परिवारका सदस्यहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत दुई–दुई लाखका दरले राहत वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले बताए ।

त्यस्तै जिल्लाका दुई अग्नीपीडित परिवारलाई १५–१५ हजारका दरले राहत वितरण गरिएको उनले जानकारी दिए । राहत पाउनेहरुमा गौरादह– ५ का रणबहादुर दनुवार र हल्दिवारी– ३ का तारावल्लब गिरी रहेका छन् । असोजको दोस्रो साता आएको अविरल वर्षाका कारण बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको थियो ।

असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढीपहिरो र डुबानलगायत विपत्का घटनामा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई सरकारले राहत वितरण सुरु गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म बाढीपहिरो प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको जानकारी दिए ।उनका अनुसार हालसम्म विपत्मा परी ज्यान गुमाएका २३८ मृतकका परिवारलाई आर्थिक सहायतास्वरूप राहत रकम वितरण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्