झापा, कात्तिक ९ । ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । यसको आयोजना स्थल फक्ताङ्लुङ गाउँपालिकामा पर्दछ । फक्ताङ्लुङ गाउँपालिका–५, तापेथोकमा आयोजनाको बाँध (मुहान) रहने छ । सोही गाउँपालिका–३, लिङ्खिमको ठौवामा विद्युतगृह रहने गरी आयोजना निर्माण हुने भएसँगै काम नै प्रारम्भ भइसकेको तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए ।
अध्यक्ष ढुङ्गानाका अनुसार आयोजनाका लागि प्रयोग हुने व्यक्तिगत स्वामित्वमा रहेको जग्गा खरिद गरिसकेको छ । उनले जग्गा खरिद गरिसकेपछि आयोजना स्थलमा हालसम्म शिविर (आवास) का संरचना निर्माण गरिएको पनि जानकारी दिए । यस्तै सडक निर्माणको काम भइरहेको ढुङ्गानाको भनाइ छ ।
उनका अनुसार आयोजनाको तापेथोक बगरमा रहने बाँध स्थलदेखि विद्युतगृह ठौवासम्म ८.३७० किलोमिटर लामो सुरुङ हुने छ । विद्युतगृह भूमिगत हुने उनले जानकारी दिए । आयोजना निर्माणपछि उत्पादन हुने विद्युत् करिब १५ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघु सबस्टेसनमा जडान गरिने छ । नेपाल विद्युत् प्राधिकरणको उक्त ढुङ्गेसाँघु सबस्टेसनमार्फत कोशी कोरिडोर हुँदै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान हुने प्रवर्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।
तमोर इनर्जी प्रालिका अनुसार आयोजना निर्माण गर्न कुल ५५ अर्ब १५ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ । कुल लागतको करिब ३० प्रतिशत रकम प्रवर्धक कम्पनीको आन्तरिक लगानी हुने र ७० प्रतिशत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको हुने कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि नौ अर्ब २७ करोड रुपियाँ प्रतिवर्ष आम्दानी हुने छ । त्यसपछि क्रमशः तीन प्रतिशतसम्म वृद्धि हुँदै आयोजनाबाट ११ अर्ब ५० करोड रुपियाँ वार्षिक आम्दानी हुने अनुमान गरिएको प्रालिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्