कुमरखोद, कात्तिक ९ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ सी नेपालको सहयोगमा झापा गाउँपालिकाका ८० बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

वडा नं. १ को मिलनवस्तीका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
गएको असोज ११ गते अविरल वर्षाका कारण ठुलो माईखोलामा आएको वाढीले ८० घरपरिवार डुवानमा परेका थिए । त्यसमध्ये केही परिवारलाई सितुमारी मनोज मित्तल प्राविमा स्थानान्तरण गरिएको थियो ।
लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ सी फाउन्डेसनले बाढीपिडितलाई जनही २५ केजी चामलसहित नुन,तेल , दाल , भान्सामा प्रयोग हुने भाँडावर्तन , झुल , व्लांकेट , तपेशलगायतका सामग्रीहरु दिएको डिस्ट्रिक सेकेन्ड भाईस गभर्नर लिला चिमरियाले बताए ।

लायन्स क्लवका डिस्ट्रिक गभर्नर विकास अधिकारीले मानवता पहिलो प्राथमिकता भन्ने अवधारणा अनुसार लायन्स क्लव इन्टरनेशनलको एलसीआइएफको इमरन्जेन्सी फण्डबाट राहत सामग्रीहरु वितरण गरेको वताए । डिस्ट्रिक गभर्नर अधिकारीका अनुसार बाढी , पहिरो, आगलागी , भुकम्पजस्ता प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा अग्रपंक्तिमा रहेर लायन्स क्लवले सहयोगीको रुपमा काम गर्दै आएको छ । उनले कोशी प्रदेशभरिका चारसय घरधुरी बाढीपीडितलाई राहत सामग्री वितरण गरिने बताए । उनले शुक्रवार नै ठुलो माईखोलाको बाढीबाट प्रभावित गौरीगञ्ज गाउँपालिका वडा नं १ का ७० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको जानकारी दिए ।

राहत वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेले झापा गाउँपालिका वडा नं १ मिलनबस्ती गाउँ वर्षेनि ठुलोमाई खोलाको बाढीको चपेटामा पर्दै आएको बताए । हुलाकी सडकखण्डमा पर्ने ठुलोमाई खोलाको पुल छेउमा बाँध नबनेका कारण पानीको बहाब मिलनबस्तीमा सिधै बग्ने गरेको उनले बताए । झापा गाउँपालिका वडा नं २ को सुँगावथान गाउँमा ठेक्का लागिसकेको बाँध त्यहाँका केही स्थानीय व्यक्तिले ठेकेदारलाई बनाउन नदिँदा यो समस्या देखा परेको उनको भनाई छ ।

राहत वितरण कार्यक्रममा डिस्ट्रिक गभर्नर अधिकारी , प्रदेश सांसद लखी गणेश , झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया , जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, निलम्बित अध्यक्ष जयनारायण शाह , सेकेन्ड गभर्नर चिमरिया , क्याविनेट ट्रेजरर रमेश खत्री , वडा नं १ का अध्यक्ष राजकुमार यादव , एरिया चिफ शैलेन्द्र कुरुङवाङलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन क्याविनेट सेक्रेटरी उदय बरालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्