भद्रपुर, कात्तिक १० । सामाजिक अभियान चलाइरहेको चन्द्रगढी सेवा समाजको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा जग्गादाता सम्मानलगायत विविध गतिविधिका साथ सभा सम्पन्न भएको हो ।

गायक अर्जुन खरेलले राष्ट्रभक्ति गीत गायन गरेको कार्यक्रममा समाजको भवन निर्माणका लागि जग्गा दान दिने अम्बरबहादुर कार्कीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री कार्कीले समाजलाई सही गतिमा लैजान सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहने धारणा राखे । उनले विधि र प्रकृया नमान्ने अराजक गतिविधि बढेकै कारण देशमा अराजनीतिक चरित्रले प्रवेश पाएकाले कानूनलाई चुनौति दिन दलको भण्डा दुरुपयोग भइरहेको भन्दैे नियम कानून अनुसार चल्न सवैलाई अनुरोध गरे ।

मन्त्री कार्कीले देशको राजनीति संकटतिर गएकै कारण काँग्रेस एमाले एक ठाउँ उभिएर सरकार निर्माण गरेको भन्दै सहकारी अपचलन मुद्धा प्रभावित पार्न सडकमा भीड देखिनु अराजनीतिक संस्कार भएको आरोप लगाए ।

यस्तै कार्यक्रममा विशिष्ठ अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सभ्य र समृद्ध समाज निर्माण गर्न सामाजिक संस्थाको योगदान अपरिहार्य रहेको बताए । प्रमुख पोखरेलले निस्वार्थ सेवा गर्ने सामाजिक संस्थाले मात्र समाज रूपान्तरणका लागि जाँगर ल्याउन सक्ने विचार राखेका थिए ।

बरिष्ठ उपाध्यक्ष देवीमाया अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, बाल सञ्जाल भद्रपुरका सहसचिव श्रीयम अधिकारीलगायतले बोल्दै सामाजिक जागरण र समानताका लागि संस्था निरन्तर लागिरहनु पर्ने धारणा राखेका थिए । दीपबहादुर राउतले सञ्चालन गरेको कार्यक्रममा संस्थाको वार्षिक गतिविधि र आगामी योजना अध्यक्षद्वारा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्