झापा, कात्तिक ११ । कोशी प्रदेशका विभिन्न ठाउँमा प्रयोगविहीन बनेका झोलुङ्गे पुलहरु स्थानान्तरण गरी आवश्यक पर्ने ठाउँमा लैजाने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले झोलुङ्गे पुलको ठाउँसारी गर्ने निर्णय गरेर त्यसको पहल अगाडि बढाइसकेको छ ।
झोलुङ्गे पुलबाट सर्वसाधारण आवतजावत गरिरहेको कतिपय ठाउँमा अहिले मोटरेबल पुल निर्माण भएका कारण त्यहाँको पुल प्रयोगविहीन बनेका छन् । त्यस्तै कतिपय पहुँचका भरमा निर्माण भएका झोलुङ्गे पुलहरु उपयोगी बन्न नसकेपछि त्यस्ता पुललाई अन्यत्र ठाउँसारी गरी प्रयोगमा ल्याउने निर्णयमा मन्त्रालय पुगेको हो ।
कोशीका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरिसकेको जानकारी दिए । “सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगविहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक ठाउँमा सार्ने काम सुरु हुन्छ ।“
मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरूलाई सुचारु गराउन योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गराएका छन् । शनिबार सुनसरीको धरानमा रुग्ण बनेका दुई आयोजनाहरुलाई सुचारु गराउन आयोजनास्थलमै सरोकारवाला, उपभोक्ता, ठेकेकार र स्थानीय जनप्रतिनिधिलाई राखेर उनले छलफल गरेका छन् ।
“क्रोनिक आयोजनाहरु निर्माण हुन किन सकेन भनेर योजनास्थलमै सर्वसाधरण, उपभोक्ता, निर्माण व्यवसायी, मन्त्रालय तथा पूर्वाधार कार्यालय त्यहाँ गएर छलफल गर्ने काम सुरु गरिएको छ,“ उनले भने, “उक्त योजना नबनाउने हो भने त्यहीँ ठेक्का तोड्ने र बनाउने हो भने काम नहुनुको कारण के हो ? स्थानीयको अवरोध हो कि ? निर्माण व्यवसायीले ठगेको हो कि ? भुक्तानीमा समस्या हो कि के हो भन्ने विषयमा जानकारी लिएर मन्त्रालय अघि बढ्छ ।“

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्