झापा, कात्तिक ११ । सहकारी ठगीमा संलग्न झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेका छन् ।

बचतकर्ता र शेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको छ । पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् ।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । प्रदेश सहकारी रजिष्टार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको उनले जानकारी दिए । हाल उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

२०७९ साल मंसिर ४ मा निर्वाचन हुनुपूर्व खनालले आफ्ना छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्न पनि आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए । ‘तपाईंहरूको पैसा डुब्दैन, मलाई जिताउनु, पैसा म फिर्ता गर्छु’ उनले चुनावअघि भनेका थिए ।

तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि पीडितहरूले नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए । सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो । भदौको तेस्रो सातातिर खनालविरुद्ध उजुरी परेको थियो ।

केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा झिकाएर केरकार गरेका थिए । उक्त सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । आर्थिक वर्ष २०७८–०७९ मा उनले ७० हजार शेयर रकम हिनामिना गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेका थिए । बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा संकलकहरूबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९–८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचत खातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।यस्तै आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ नगद मौज्दात भएको दाबी गरेपनि उक्त रकम अध्यक्षले व्यक्तिगत रूपमा चलाएका थिए ।

आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षण प्रतिवेदनमै संस्थाले लगानी गरेको रकमभन्दा ५ लाख ४९ हजार ५१२ रुपैयाँ ज्यादा लगानी रहेको भनी वित्तीय विवरण तयार पारिएको थियो । आर्थिक वर्ष २०७८–७९ मा उन्नति साकोसको नाममा ५ लाखको कर्जा संस्थाले शेयर सदस्यलाई लगानी गरेको नभई अध्यक्ष खनालले नै मनखुसी चलाएका थिए ।

आर्थिक वर्ष २०७८–७९ मा रमेश अधिकारीको नाममा रहेको १ लाख ९१ हजार ८४९ रुपैयाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ ।

सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९–८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।‘उल्लेखित कैफियतहरूलाई समावेश गर्दा संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै आर्थिक वर्ष २०७९–८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्