झापा, कात्तिक ११ । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी साधनका लागि लागू हुनेगरी टाइमकार्डको व्यवस्था गर्न यातायात व्यवसायीहरू सहमत भएका छन्।

पछिल्लो समयमा झापामा यात्रुबाहक बसलगायत सार्वजनिक यातायातका साधनको ठक्करबाट मानिसको मृत्यु हुने क्रम बढेसँगै यातायात व्यवसायीहरू पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनका लागि टाइमकार्ड लागू गर्न सहमत भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा आइतबार जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा टाइमकार्ड लागू गर्ने विषयमा सबै सरोकारवाला एकमत भएका हुन्।

यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले टाइमकार्ड लागू भए दुर्घटना न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘२०७६ सालमा लागू भएको टाइमकार्ड केही महिनापछि हट्यो। त्यो बेला दुर्घटनाको संख्या निकै कम भएको थियो। हामी त टाइमकार्ड लागू गरौँ भन्ने पक्षमा छौं।’

टाइमकार्ड लागू गर्ने विषयमा झापा, मोरङ र सुनसरी जिल्लामा एकैसाथ लागू गर्दा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। त्यसका लागि मोरङ र सुनसरी जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूसँग समन्वय गर्न झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडेललाई उनले निर्देशन दिएका छन् ।

उनले भने, ‘झापाका ट्राफिक प्रहरी प्रमुखले दुईवटै जिल्लाका ट्राफिक प्रहरी प्रमुखहरूसँग समन्वय गर्नुहुनेछ। दुर्घटना न्यूनीकरणका लागि वस्तुगत ढंगले कार्ययोजना बनाएर अर्को छलफलमा पेश गर्नुहुनेछ।’
झापामा भने टाइमकार्ड लागू गर्न अब कुनै समस्या नरहेको झापाका ट्राफिक प्रमुख पौडेलले बताए। उनले मंसिर महिनाबाटै टाइमकार्ड लागू गर्न सकिने बताए।

दुर्घटना न्यूनीकरणका लागि पार्किङस्थलको व्यवस्थापनलगायतका विषयमा स्थानीय तह बढी जिम्मेवार हुनुपर्ने सरोकारवालाहरूले बताएका थिए।

इ–रिक्सा तथा अटोरिक्साको आवागमनलाई व्यवस्थित गर्न स्थानीय तह अग्रसर हुनुपर्ने उनीहरूको भनाइ थियो।

छलफलमा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी, यातायात व्यवस्था कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटा, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राईलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्