एउटै गाउँबाट सन्थाल समुदायका दुई सई र दुई असई

झापा, कात्तिक १२ । अन्य जातिहरु प्रहरी सेवाको उच्च ओहोदामा पुगिरहँदा अति सीमान्तकृत सन्थालहरु भने प्रहरी नायव निरीक्षक(सई) मै सीमित छन् ।

सई खुदु मुर्मू र सुरेन्द्र चौडे

प्रहरी सेवामा न्यून उपस्थिति रहेको सन्थालहरुको खासै पहुँच पुग्न नसकेको हो । राजनीतिक , आर्थिक , सामाजिक, शैक्षिक ,स्वास्थ्यलगायत हरेक क्षेत्रमा पछि परेका र पारिएका सन्थालहरु निजामती सेवामा जस्तै प्रहरी सेवामा पनि अगाडि बढ्न सकेका छैनन् । सन्थाल समुदायबाट मुश्किलले दुईजना सईमा पुग्न सकेका छन् भने एकजना सईबाट रिटायर्ड भएका छन् ।

मोरङको रंगेली नगरपालिका वडा नं १ बबिया बिर्ताबाट सन्थाल समुदायका दुईजना सई बनेका छन् । सई खुदु मुर्मू हाल इलाका प्रहरी कार्यालय घैलाडुब्बा झापाका इन्चार्ज छन् । उनी इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट सरुवा भएर आएका हन् । त्यस्तै अर्का सई सुरेन्द्र चौडे कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत छन् । प्रशिक्षक समूहमा रहेर तालिम दिने गरेका चौडे विगत २२ वर्षदेखि त्यही तालिम केन्द्रमा कार्यरत छन् । दुवैजना जवानबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

मुर्मू २०५५ र चौडे २०५३ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । त्यस्तै बिर्तामोड ८ का रिन्टु हस्दा केही वर्षअघि सईबाट रिटायर्ड भएका छन् । ती दुईजना बहालवाला सईबाहेक सन्थाल समुदायबाट एकजना प्रहरी सहायक निरीक्षक (असई ) छन् । मोरङको पथरी बेस क्याम्पमा कार्यरत असई सुरेन्द्र हेमरम पनि मोरङको रंगेली– १ बबियाबिर्ताबाटै हुन् । त्यस्तै केही समयअघि सई खुदु मुर्मूका दाजु विजय मुर्मू असईबाट रिटायर्ड भएका छन् । एउटै गाउँ बबिया बिर्ताबाट सन्थाल समुदायका दुईजना सई र दुई जना असई बनेका हुन् ।

प्रहरी सेवामा सन्थाल समुदाय औलामा गन्ती गर्ने संख्यामा छन् । अन्दाजी ३०–३५ जना प्रहरीमा लागेको बुझिएको छ । । त्यसमा अधिकांश प्रहरी जवान छन् । अहिलेसम्म जुनियर अधिकृत सईसम्म पुगेपनि सिनियर अधिकृत बन्न सकेका छैनन् । । त्यस्तै अन्य सुरक्षा निकायलाई हेर्दा नेपाली सेनामा करिव १० जना र सशस्त्र प्रहरीमा पनि त्यसकै हाराहारीमा सन्थालहरु रहेको अनुमान गरिएको छ ।

झापा , मोरङ र सुनसरीमा बसोबासरत सन्थालहरुको जनसंख्या ५७ हजार ३१० रहेको छ । भूमिपतिबाट अधिकांश भूमिहीन बनेका सन्थालहरु करिव ४० प्रतिशत साक्षर रहेको अनुमान गरिएको छ । शारीरिक तन्दुरुस्तीले सन्थालहरु सुरक्षा निकायमा भर्ती हुन योग्य भएपनि शिक्षा र चेतनाको अभावका कारण आफूहरुको उपस्थिति एकदमै न्यून भएको सई मुर्मूले बताए । त्योसंगै सोर्स फोर्स नभएका कारण पनि आफूहरु पछि परेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्