झापा, कात्तिक १२ । दुर्गा प्रसाईको कार्यक्रममा जान प्रहरी प्रशासनले रोक लगाएपछि दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा. संगीतकुमार रागी कार्यक्रममै भाग लिन नपाई भारत फर्किएका छन् ।

हिजो अपरान्ह भारतको बागडोक्रा हुँदै बिर्तामोडको बीएण्डसी अस्पताल आएका रागी राति होटल किंग्सबेरीमा बसेका थिए । उनलाई राति नै प्रहरीले भेटेर कूटनीतिक मर्यादा विपरित बिनाअनुमति प्रसाईको आन्दोलनमा भाग नलिन भनेर संझाएको थियो । रागीलाई प्रसाईको कार्यक्रममा गए पक्राउ गर्ने प्रहरीले चेतावनीसमेत दिएको थियो । प्रहरी प्रशासनले प्रसाईको इटहरीको कार्यक्रममा भाग लिन रोक लगाएपछि उनी आज बिहान साढे १० बजेतिर काँकडभिट्टा हुँदै भारत फर्किएका हुन् । भारत फर्किनुअघि प्रसाईले पूर्वाञ्चल क्यान्सर अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रागीले दुःख व्यक्त गरेका थिए ।
भारतबाट परिचालित भएको आरोप लागेका प्रसाईले आफ्नो कार्यक्रममा भारतीय प्रोफेसर रागीलाई बोलाएका थिए । रागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग नजिकको सम्बन्धमा रहेको बताइएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको व्यानरमा केही समयदेखि विभिन्न गतिविधि गर्दै आएका प्रसाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट परिचालित रहेको आरोप रहेको छ ।

यसैबीच राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्नै कारण जनताको नजरबाट गिरेको आरोप लगाएका छन् । प्रसाईले इटहरीमा भएको सभालाई सम्बोधन गर्दै नेपालको इतिहासमा अहिलेसम्म जनताबाट तिरस्कृत भएको प्रधानमन्त्री पनि सायद ओली नै होला भन्ने धारणा राखे । ‘जनतामाथि यस्तै दमन गरिरहे ओलीको सत्ता धेरै दिन टिक्दैन । बाढी–पहिरोले जनताको गाँस, बास र रोजीरोटी खोसिएको छ । त्यस्ता ठाँउमा ओली पुग्न सकेका छैनन् ’ प्रसाईले भने । सिंहदरबार र बालुवाटारभित्र बसेर जनतामाथि नचाहिँदो सास्ती ओलीले दिइरहेको प्रसाईले आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्