बिर्तामोड, कात्तिक १३ । बिर्तामोड नगरपालिकाका कर्मचारीहरुको बढ्दो मनोमानी र रवैयाप्रति जनप्रतिनिधिहरुले चासो व्यक्त गरेका छन् ।

कर्मचारीहरुका कारण बिर्तामोड नगरपालिका बद्नाम हुँदै गएपछि जनप्रतिनिधिहरु त्यसप्रति गंभीर बनेका हुन् । कर्मचारीहरुको मनोमानी र आपसी कलहका बारेमा विभिन्न संचारमाध्यममा समाचार सार्वजनिक भएपछि त्यस विषयमा चासो राख्दै जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई स्पष्टीकरण सोधेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आज शाखा प्रमुखहरुलाई बोलाएर सोधेका हुन् । प्रशासन , लेखा , शिक्षा ,स्वास्थ्य , प्राविधिकलगायतका शाखाका प्रमुखहरुलाई कर्मचारीहरुमा देखिएको समस्या के हो भनेर जनप्रतिनिधिहरुले सोधेको जनाइएको छ ।

कर्मचारीहरुले आफूहरुमा कुनै समस्या नरहेको जवाफ दिएको बताइएको छ । यद्यपि बिर्तामोड नगरपालिकामा कर्मचारीहरुको ठूलो रवैया रहेको छ । एकले अर्काको कुरा नमान्ने, हप्कीदप्की गर्ने , गुटबन्दी गर्ने गरेका कारण प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने अबस्था नरहेको बताइन्छ । विभिन्न शाखाका कर्मचारीहरुले असहयोग गरेकै कारण यसअघिका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले आफूले सरुवा लिएर हिड्नु परेको बताएका छन् ।

त्यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरु पशुपति खतिवडा , विनोद न्यौपाने , गणेश दाहालले पनि सहज रुपमा काम गर्न नपाएको गुनासो गरेका थिए । कर्मचारीहरुले गुटको राजनीति गर्ने , जनप्रतिनिधिको कुरा नमान्ने , आफूखुशी गर्ने, शाखा–शाखाबीच समन्वय नगर्नेजस्ता प्रवृति हावी भएको चर्चाले बिर्तामोड नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत नआउने हुन् कि भन्ने चिन्ता देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा सरुवा भएर गएपछि विगत एक महिनादेखि बिर्तामोड नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । जसका कारण कार्यालयको कामकाज संचालन हुन सकिरहेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्