झापा, कात्तिक १४ । भाइटीका आउन पाँच दिन बाँकी रहँदा बजारमा चहलपहल बढेको छ । तिहारका सामान किन्नेको भिड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेष गरी लक्ष्मीपूजा गर्दा चाहिने दियो तथा पाला, मैनबत्ती र झिलिमिली बत्ती, दाजुभाइ पुज्नका लागि भाइमसला (नरिवल, काजु, पेस्ता, बदाम, किसमिस, ओखरलगायत) र ढाकाटोपीको कारोबार हुन्छ ।
तिहारका बेला भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइमसलाको भाउ यस वर्ष बजारमा छोइनसक्नुभएको छ ।
तिहारमा बढी मसला बिक्री हुने भएकाले कतिपय व्यापारीले मौका यही हो भन्दै आफूखुसी मूल्य बढाएका छन् । पुरानो स्टकमा रहेका अखाद्य र सस्तो प्रकारका मसलासमेत नयाँमा मिसाएर बेच्ने गरेको पाइएको छ तर मूल्य भने व्यापारीले उच्च दरमा लिने गरेका छन् ।
भाइमसलामा प्रयोग हुने नरिवल, पेस्ता, छोकडा, काजु, देशीबदाम, किसमिसलगायतका सामग्रीको मूल्य बढेको हो । दसैँअगाडिसम्म प्रतिकेजी एक हजार पाँच सय रुपियाँ रहेको काजुको मूल्य बढेर प्रतिकेजी दुई हजार पुगेको छ ।
व्यापारीहरू भने तिहारमा भाइमसलाको माग बढी हुने भएकाले केही मूल्य बढ्नु स्वाभाविक भएको स्वीकार गर्छन् ।
नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले काजु र पेस्ता आयातबाहेक देशीबदाम, ओखर, किसमिस, खुर्पानी, छोकडा र सुकमेल तिहारकै कारण बढेको स्वीकार गरे । सरकारको नियमन र अनुगमन गरेर बजार भाउ नियन्त्रण गर्ने निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा संयुक्त रूपमा दैनिक नौ वटा टोलीबाट अनुगमन भएको दाबी गरेको छ ।