बिर्तामोड, कात्तिक १५ । बिर्तामोड– ९ की सकुन राजवंशीले एक मुठी सन्ठीलाई सय रुपैयाँ दाम तिरिन् ।


सन्ठी नपाउने हो कि भन्ने चिन्ताका बीच उनले बल्ल बिर्ताबजारमा सन्ठी किन्न पाइन् । तिहारको लक्ष्मी पूजाको दिन पूजा गर्नका लागि सन्ठी अनिवार्य चाहिने भएपछि उनले खोजेरै सन्ठी ल्याउनु पर्यो । पूर्वी नेपालमा बसोबास गर्ने आदिबासी समुदायलाई लक्ष्मी पूजाको दिन हुकाहुकी पर्वका लागि सन्ठी नभइ हुँदैन । पाटा(जुट ) खेती लोप भएसँगै सन्ठीको अभाव भएको हो । गाउँतिर अलिअलि सन्ठी भेटिने गरेपनि शहर बजारमा सन्ठी पाउनै गाह्रो भएको सकुन बताउँछिन् ।

आदिबासी समुदायमा सन्ठीको ठूलो महत्व रहेको छ । तिहारमा पर्ने गोरुवाँसी पर्वमा सन्ठीको राँको ( हुकाहुकी) खेल्ने परम्परा पूर्वका आदिबासी समुदायमा छ ।राजवंशी , ताजपुरिया , गनगाई , माझीलगायतका जातिले सन्ठीको मुठो(हुकाहुकी) बनाएर त्यसलाई पुजा गर्ने र आगो सल्काएर खेल्ने परम्परा छ । आदिबासी समुदायको लागि पाटा परम्परागत खेती हो । उहिले सबैले पाटा खेती गर्ने गरेका थिए । पाटा खेती छोडेकाहरुले अहिले अरुबाट सन्ठी किनेर भएपनि हुकाहुकी खेल पर्व मनाउने गरेका छन् । आज लक्ष्मी पूजाका दिन पूर्वी नेपालका आदिवासी समुदायले हुकाहुकी खेल पर्व मनाउँदैछन् ।

सन्ठीकै लागि जुट खेती

झापामा हराउन लागेको जुट(पाटा) खेती दक्षिणी क्षेत्रका किसानहरुले घरायसी प्रयोजनका लागि भएपनि अझै गर्दै आएका छन् ।

गाउँका किसानहरुले जुट खेती अझै गरिरहेको बाह्रदशी गाउँपालिकाको कृषि शाखाले जनाएको छ । बाह्रदशीको वडा नं १ मा मात्र करिव ५ विगाहमा यस वर्ष जुट खेती गरिएको पूर्व वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । पहिला विगाह—विगाहमा खेती गर्ने किसानहरु अहिले थोरै ठाउँमा भएपनि जुट खेती गर्ने गरेको उनले बताए । पहिलाको तुलनामा जुट खेती निकै घटेको छ । उचित मूल्यको अभाव र झन्झटिलो भएका कारण किसानहरुले जुट खेती छोड्दै गएको राजवंशी बताउँछन् ।

‘पाटा कुहाउन खोला वा पोखरी चाहिन्छ, जलाशय हराउँदै गए’उनले भने,‘ त्योसँगै पाटा खेती गर्दा बीउ छरेदेखि तयारी पाटा नसुकाएसम्म झन्झट नै झन्झट छ ।’ खासगरी आदिवासी समुदायले घरायसी प्रयोजनका लागि पाटा खेती गर्ने गरेको राजवंशी बताउँछन् । विगतमा धेरै क्षेत्रफलमा पाटा खेती गरेका बाह्रदशी १का रुपलाल राजवंशीले गत वर्ष एक कठ्ठामा पाटा लगाएका थिए । उनले पाटाभन्दा सन्ठीको लागि आफूले खेती गर्ने गरेको बताए । आफूले दुई–चार खुट्टी पाटा लगाउने गरेकोमा यस वर्ष एक खुट्टीमा मात्र लगाएको बिर्तामोड ९ का अघनलाल राजवंशीले बताए । यस वर्ष करिव २००० रुपैयाँ प्रतिमन मात्र भाउ रहेको उनको भनाई छ ।

पाटाको घरायसी प्रयोग
ग्रामीण क्षेत्रका आदिबासी समुदायले घरायसी प्रयोजनका लागि चाहिने भएर पाटा खेती छोड्न नसकेका हुन् । पाटासँगै सन्ठीको अति आबश्यकता पर्ने गरेकाले एक–दुई खुट्टी भएपनि उनीहरुले पाटा लगाउने गरेका छन् । सिन्ठा( सन्ठी) नभइ हुँदैन त्यही भएर थोरै भएपनि लगाउने गरेको किसान रुपलालले बताए ।

आदिबासी समुदायको लागि पाटा परम्परागत खेती हो । कतिपयले साग खान पनि पाटा छर्ने गरेका छन् । पुजाआजासँगै आदिबासी समुदायले आगो सल्काउन सन्ठी प्रयोग गर्ने गरेका छन् । इन्धनको रुपमा अझै दाउरा प्रयोग गरिरहेका ग्रामीण भेगका आदिबासीहरुले आगो सल्काउन र गोइठा बनाउन सन्ठी प्रयोग गर्ने गरेको रुपलाल बताउँछन् ।उनका अनुसार पहिला पाटाले घरमै डोरी बाँट्ने (बनाउने )गरिएकोमा अचेल बजारबाट किनेर प्रयोग गरिन्छ ।

घट्दो जुट खेती
करिव तीन दशकअघि झापाको प्रमुख नगदेबाली रहेको जुट खेती अहिले निकै घटेको छ । खासगरी जिल्लाका सिमावर्ती गाउँपालिकाहरु कचनकवल , बाह्रदशी , झापा र गौरीगञ्ज गाउँपालिकामा जुट खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्