झापा, कात्तिक १५ । झापाको कनकाई वडा नं. ६ मा मंसिर १६ गते हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनका लागि चहलपहल शुरु भएको छ । उपनिर्वाचनका लागि पाँच दलले आ–आफ्ना उम्मेद्वार तयार गरिसकेका छन् ।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेसँगै स्वतन्त्रसहित मुख्य राजनीतिक दलहरुले उम्मेद्वारको टुङ्गो लगाएका हुन्। यस उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रबाट वडाध्यक्ष पदका लागि उम्मेद्वार सिफारिस भएको बताइएको छ ।

नेकपा एमालेका तर्फबाट पार्टीको पूर्व जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय कमिटीका पूर्व सचिवसमेत रहेका पूर्व जनप्रतिनिधि तुलाराम बस्नेतलाई सिफारिस गरिएको छ । त्यस्तै नेपाली कांग्रेसबाट पार्टीका वडा सभापतिसमेत रहेका रामगोपाल ओली वडाध्यक्ष पदका लागि उम्मेद्वार बन्ने भएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उनी वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

त्यसैगरी नेकपा माओवादीका तर्फबाट स्थानीय युवा गणेश थापालाई पार्टीले वडाध्यक्षका रुपमा अघि सारेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई वडाध्यक्षको उम्मेद्वार बनाउने भएको छ भने यसअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्रको उम्मेद्वारका रुपमा झिनो मतको अन्तरले पराजित बनेका लक्ष्मीप्रसाद ओलीसमेत यस उपनिर्वाचनमा वडाध्यक्षको उम्मेद्वारका रुपमा चुनावी मैदानमा उत्रिने भएका छन् । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीसहित वडामा क्रियाशील अन्य साना दलले समेत आफूलाई समर्थन गर्ने उनको दावी छ ।

कनकाई वडा नं.६ का वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्