झापा, कात्तिक १५ । झापाको हल्दिवारी–४ अधिकारी चोकमा गाउँपालिकाले रोक लगाएपनि स्थानीय व्यवसायीहरुले हाट लगाएका छन् ।
स्थानीयवासीहरुले गत असोज २ गतेदेखि प्रत्येक बुधबारका दिन त्यहाँ हाटबजार लगाउन थालेका थिए । यसबीचमा मंगलवार हल्दिवारी गाउँपालिकाले बिना इजाजत हाटबजार नलगाउन सूचना निकालेको थियो । त्यसको भोलिपल्ट हिजो दिउँसो २ बजे हल्दिबारी –५ कन्चनश्रीका बुद्धिबल नेम्वाङ(लिम्बू) को नेतृत्वमा करिब १२–१४ जना युवाहरु आई हाट बिथोल्न खोजेका थिए । हाटमा आएका स्थानीय पसलेहरुलाई धम्क्याउँदै पसल नथाप्न धम्की दिएका थिए । उक्त हाटको नेतृत्व गर्ने मुक्ति शर्मालाई धक्का मुक्का गर्दै सामान्य कुटपिटसमेत गरेका थिए । करिब एक–डेढ घण्टापश्चात् स्थानीय व्यवसायीहरुले पुनः हाट लगाएका थिए ।
हाटको नेतृत्व गर्ने मुक्ति शर्मा र स्थानीय व्यवसायीहरुले स्थानीय स्तरमा उत्पादन भएका वस्तु बिक्रीवितरणमा निषेध गर्ने गाउँपालिकाको निर्णय गलत भएको बताएका छन् । उनीहरुले सो घटना गराउन गाउँपालिकाले नै गुन्डा पठाई भाँडन खोजेको आरोपसमेत लगाएका छन् ।