कुमरखोद,कात्तिक १७ । स्थानीय जोरमाई युवा क्लवको आयोजनामा झापा गाउँपालिकामा जारी १९ औं खुल्ला नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा गेरबाबा एफसी अर्जुनधारा विजयी भएको छ ।
नागरिक स्पोर्टस एकाडेमीसँग भएको खेलमा ४–० गोलको फराकिलो अन्तरले गेरबाबा एफसी विजयी भएको हो । खेल शु्रु भएको २ मिनेटमै जर्सी नं. ३२ का अंकित लिम्बूले गेरबाबाका लागि पहिलो गोल गरेका थिए । त्यस्तै जर्सी नं. १९ का वुद्ध चौधरीले दोस्रो हाफको १५ र २५ औं मिनेटमा दुई गोल गरेका थिए । यसैगरी गेरबाबाकै जर्सी नं १० का संजय धिमालले २९ औं मिनेटमा गोल गरी टिमलाई विजयी गराएका हुन् ।
आजको खेलको म्यान अफ द म्याच दुई गोल गर्ने गेरबाबाका बुद्ध चौधरी घोषित भए । अब कात्तिक १९ गते सोमवारदेखि सेमिफाइनल खेल शुरु हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा आयोजक जोरमाई युवा क्लव र गतिशील युवा क्लव बैगुनधुरावीच प्रतिष्पर्धा हुने क्लवका सचिव नवराज बस्नेतले जानकारी दिएका छन् ।
झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लव सडकवाडीको खेलमैदानमा कात्तिक २२ गते फाइनल खेल हुने भएको छ । विजेता टिमले ६५ हजार नगद र उपविजेता टिमले ३५ हजार नगद साथमा ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष हेमकुमार राजवंशीले बताएका छन् ।