तलाउ र नदी परिसर सिङ्गारिँदै

लक्ष्मी उप्रेती

मेचीनगर । हिन्दु धर्मावलम्वीहरुका दुई ठुला महत्वपूर्ण चाड दशैं र तिहारको अन्त्यसँगै छठ पर्वको चहलपहल शुरु भएको छ ।

झापाका विभिन्न नदी, पोखरी र खोला किनारहरुमा छठ पर्वको लागि तीब्ररुपमा घाट निर्माण गरिदैं छ । ती घाटहरुलाई झकिझकाउ पारिँदै छ । छठ पूजाका लागि मेची, निन्दा, टिमाई, देउनिया, फूलवासा, अन्धुवा, बिरिङ, कनकाई माई, रतुवालगायतका नदीहरुलाई दुलहीझै सिङ्गारिने क्रम शुरु भएको छ ।

छठ पूजा समिति मेचीनगर धुलावारीका अध्यक्ष जयकुमार सराफका अनुसार मेचीनगरको निन्दा नदीमा तीन सयदेखि साढे तीनसय पूजा घाटहरु निर्माण हुँदै छन् । त्यसमध्ये दुईसय २० वटा निर्माण भइसकेको र बाँकी धमाधम निर्माण भइरहेको अध्यक्ष सराफले जानकारी दिए । ती सबै घाट हरेक वर्ष समितिले आफै निर्माण गर्दै आएको उनको भनाई छ । समितिले घाट निर्माण गरिसकेपछि अधिकतम दुईहजार पाँचसय रुपैयाँ लिएर ब्रतालुहरुलाई पूजा गर्न दिने गरेको छ । आर्थिक अवस्था कमजोर , न्यून आय भएकालाई समितिले निःशुल्क घाट उपलब्ध गराउने अध्यक्ष सराफको भनाई छ ।

निन्दामा करिव १० देखि १५ हजार मानिसले अवलोकन गर्ने समितिको अनुमान छ । समितिले पूजा तथा दर्शन गर्न आउनेहरुका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएको छ । स्थानीय सरकार मेचीनगर नगरपालिकासँग समेत समितिले आवश्यक समन्वय गरेको छ ।

छठ समाज सेवा समिति बिर्तामोडका उपाध्यक्ष मनोज रौनियारले विगत एक सातादेखि बिरिङ खोलामा घाट निर्माण भइरहेको बताए । करिव एक हजार ब्रतालुका लागि त्यहाँ ३५० वटा घाट निर्माण भइरहेको उनले जानकारी दिएका छन् । त्यस्तै बिर्तामोड ३ बिर्ताबजारस्थित अन्धुवा खोलाको किनारमा डेढ सयवटा घाट निर्माण गरिएको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । उनले एक सातादेखि काम शुरु गरी घाट निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

पूर्वकै ठूलो छठ पूजा मेची नदीमा हुने गरेको छ । नेपाल र भारतलाई छट्याउने मेची नदीमा करिव हजार वटा पूजाका घाट बनाइदै छ । मेची नदीको पूर्वतर्फ भारतीय र पश्चिमतर्फ नेपालका ब्रतालुहरुले पूजा गर्ने गरेका छन् । जिल्लाका विभिन्न स्थानमा छठ पूजा सम्पन्न गर्न विभिन्न संघ संगठन गठन गरिएको छ । ती संघ संगठनले राति जाग्राम बस्ने ब्रतालुहरुका लागि विद्युत, टेन्टलगायतको उचित व्यवस्थापन गर्ने गर्दछन् । महान चाड छठको ब्रत बिहीवार परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्