विनोद सापकोटा,
झिलझिले । झापाको सताक्षीधाममा यस वर्ष पनि गोरक्षा महोत्सव हुने भएको छ ।
आगामी मंसिर १४ देखि २४ गतेसम्म (११ दिवसीय) हुने यो महोत्सव यसअघिका महोत्सवभन्दा धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ। आयोजक गोलोक गोवर्धन गौशालाको यो दशौँ धार्मिक महोत्सव हो।
श्री सताक्षी गोरक्षा महोत्सव २०८१, धनधान्याञ्चल ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्री तुलसी शालिग्राम ,श्री सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन हुने आयोजक समितिका अध्यक्ष एवं गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताए ।
यस वर्षको महोत्सवमा सवा करोड रुद्राक्ष मालाजडित ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष पूजा अर्चना हुने बताइएको छ। करिब छ महिना अघिदेखि संकलन गरिएको रुद्राक्षजडित शिवलिङ्ग निर्माण कार्य सुरु भएको आयोजक गोलोक गोवर्धन गौशालाले जनाएको छ।
रुद्राक्ष फलजडित ५१ फिटको शिवलिङ्गको पार्थिवमा विशेष पूजाका लागि युरोपियन मुलुक र दक्षिण एसियाली मुलुकका धार्मिक व्यक्तित्वहरूको आवागमन हुने गौशालाले जनाएको छ। नेपालबाहेक कम्तिमा २० मुलुकका हिन्दु सनातनी धार्मिक व्यक्तित्वको सताक्षीधाममा आवागमन हुने आयोजक समितिले जनाएको छ। उनीहरूको आवास र भोजनको प्रबन्ध गौशालाले गर्ने छ भने सुरक्षा नेपाल सरकारले गर्ने बताइएको छ ।
गोलोक गोवर्धन गौशाला सताक्षीधाममा स्थापना भएपछि वर्षेनि धार्मिक महोत्सव हुँदै आएको छ । ‘यो महोत्सव दशौँ महोत्सव हो,’ गौशालाका अध्यक्ष आचार्य नन्दकिशोर जी महाराजले भने । धार्मिक अनुष्ठानका लागि सबै तयारी सुरु भएको उनले जानकारी दिएका छन्।
आयोजकका अनुसार मंसिर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ हुनेछ। १५ गते अखण्ड हरिनाम संकीर्तन तथा बाला चतुर्दशीको उत्सव एवं सतबीज रोपण गरिनेछ। १६ गते देश तथा विदेशबाट आउने विद्वत् सम्मेलन महोत्सवमा हुनेछ। आयोजकका अनुसार करिब ४०० का हाराहारीमा अन्तर्राष्ट्रिय विद्वत् वर्ग धार्मिक महोत्सवमा सहभागी हुनेछन् ।
मंसिर १७ गते अनुष्ठान प्रारम्भ हुनेछ। पञ्चकुण्डीय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष पूजा अर्चना, रुद्रीपाठ तथा श्रीलिङ्ग महापुराण प्रारम्भ हुनेछ। २० गते झापाका सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच गोरक्षाको आवश्यकतामाथि विचार गोष्ठी राखेर प्रतिस्पर्धा गराइनेछ।
२१ गते विवाह पञ्चमी सीताराम तुलसी शालिग्राम विवाह महोत्सव हुने आयोजक समितिका अध्यक्ष भारद्वाजले जानकारी दिए।
यो वर्षको महोत्सवमा श्रीलिङ्ग महापुराणका आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडा प्रमुख कथावाचक हुनेछन् । उनी शंकराचार्य पीठ वेद वेदान्त संस्कृत पाठशाला साधुटारका संस्थापक प्राचार्य हुन् ।
यस्तै धेनु गौ महिमा राधे राधे परिवारका संस्थापक पण्डित घनश्याम खनाल र नियमित पाठ पारायण आचार्य पण्डित मदन मोहन अधिकारीको मुखारविन्दबाट हुने आयोजक समितिले जनाएको छ।
यो धार्मिक अनुष्ठान सञ्चालनका लागि आयोजकले करिब एक करोड खर्च हुने अनुमान गरेको छ। यो कार्यक्रमले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अधिकतम प्रवर्धन हुने जानकारले बताएका छन्। सताक्षीधाम मन्दिर विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले नगरका सताक्षीधाम, चिल्लागढ धाम, दोमुखालगायत जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको समेत प्रवर्धन हुने बताए ।
झापाको सताक्षीधाममा हुने यो कार्यक्रमको प्रचारप्रसार नेपाललगायत विश्वका ठूला मुलुकहरूमा भइरहेको आयोजक समितिले जनाएको छ।
अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्डलगायत नेपाली भाषी रहेको युरोपियन मुलुकमा श्री सताक्षी गोरक्षा महोत्सव २०८१ को तीव्र प्रचारप्रसार भइरहेको आयोजक समितिले जनाएको छ। यस्तै भारत,भुटान, बर्मालगायतका मुलुकमा पनि प्रचारप्रसार तीव्र पारिएको बताइएको छ।
एक दशकअघि स्थापना भएको गोलोक गोवर्धन गौशालाले सताक्षीधाममा करिब १ हजार ५०० वटा गौको संरक्षण गर्दै आएको छ । गौ संरक्षणका लागि राज्यको झिनो सहयोगबाहेक विभिन्न दाताहरूले दिएको अन्नपात र नगद नै मुख्य आर्थिक स्रोत रहेको गौशालाले जनाएको छ।
व्यापारिक प्रयोजनका लागि भारततर्फ लगिएका गाई, दुध दिन छाडेर गाउँघर सहरबजारतिर त्यत्तिकै छाडिएका, वृद्ध र राजमार्गमा यातायातका साधनले ठक्कर दिई घाइते भएका गाईको गौशालाले उपचारसहित संरक्षण गर्दै आएको छ।
गौशालामा नेपाल र भारतका विभिन्न ठाउँमा पाइने स्थानीय तथा उन्नत जातका गाई छन् । गौशालामा संरक्षण गरी राखिएका गाई हेर्न यतिबेला विभिन्न देशका धर्मावलम्बीहरू आउने गरेका छन्।
गौशालाका अध्यक्ष भारद्वाजका अनुसार गौ संरक्षणका लागि करिब एक अर्ब बराबरका संरचना सताक्षीधाममा निर्माण भएका छन्। विभिन्न देशमा रहेका हिन्दु सनातनी धार्मिक व्यक्तित्वहरूले दिएको दान नै गौशालाको मुख्य स्रोत हो । यसअघि गौशालाले १००८ कोटी हवन समेत आयोजना गरेको थियो ।