झापा, कात्तिक २० । यसपालि तिहारमा ४० करोड रुपियाँ बराबरको स्वदेशी माला बिक्री भएका छन् । प्रत्येक वर्ष तिहारमा आयातित मालाले बजार धान्ने गरेकामा यसपालि भने स्वदेशी फूल र मालाले बजार माग पूरा गरेको हो ।
प्रत्येक वर्ष सयपत्री माला आयात हुने गरेकोमा यसपालि स्वदेशी उत्पादनले नै धानेको हो । तिहारमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ । फ्यानकानिवर्तमान अध्यक्ष मीनबहादुर तामाङले स्वदेशी फूलले बजार माग पूरा गरेको बताए । यस वर्ष भारतबाट माला आउन नपाउँदा स्वदेशी उत्पादन मात्र बजारमा भित्रियो उनले भने,“यसले गर्दा किसानले उचित मूल्य पाउनुका साथै आगामी वर्ष उत्पादन बढाउन थप प्रोत्साहन भएको छ ।”
भारतबाट माला आयात नहुँदा बजारमा केही अभाव भाईमालाको मूल्य २० देखि २५ प्रतिशत बढ्न गएको उनले जानकारी दिए । गत वर्षको तिहारमा ठुलो परिमाणमा भारतीय सयपत्री माला आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाई किसानले खेर फाल्नुपरेको थियो । गैरकानुनी ढङ्गबाट भित्रिएका माला नष्ट गरिएकाले पनि बजारमा बिक्री हुन नपाएको र त्यसले गर्दा पनि स्वदेशी उत्पादनले राम्रो मूल्य पाएको उनले जानकारी दिए ।
काभ्रेबाट काठमाडौँ मलमा माला बेच्न आएका किसान रमेश तिमिल्सेना एक्लैले तिहारकोदुई दिनमा एक लाख रुपियाँ बराबरको सयपत्री र मखमली माला बेचेको बताए ।
काठमाडौँ महानगरपालिकाले माला बेच्ने ठाउँ तोकिएिकाले धेरै सहज भएको उनको भनाइ छ । सयपत्रीको प्रतिमाला एक सयदेखि १४० रुपियाँमा र मखमली माला ३५ देखि ५० रुपियाँमा बेचेको उनले जानकारी दिए ।

तिहारमा उपत्यकासँगै आसपासका जिल्ला काभ्रे, धादिङ, नुवाकोट,रामेछाप,सिन्धुलीलगायतका जिल्लाबाट फूल भित्रिएको थियो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालका ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । एसोसिएसनका अनुसार पछिल्लो समय आत्मनिर्भर बन्दै पुष्प व्यवसायमा आठ अर्ब रुपियाँभन्दा बढी लगानी र ५० हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्