झापा , कात्तिक २० । पाँचथरको फिदिम–२ साम्दिनमा भएको आगलागीबाट ८५ लाख बराबरको क्षति भएको छ ।
आज दिउँसो अन्दाजी ४ बजे फिदिम– २ साम्दिन बस्ने ६२ वर्षीय जयप्रकाश राईको घरमा भएको आगलागीबाट त्यति धेरै क्षति भएको हो । आगलागीबाट राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको पसलको किराना सामानहरू, होटल, नगद, सुनचाँदी, खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, फर्निचरका सामानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरको अन्दाजी मूल्य ४०लाख र घरभित्र रहेका सामान अन्दाजी मूल्य ४५ लाख गरी जम्मा ८५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सो आगलागीबाट छिमेकी बिजय नेम्बाङको घरको बार्दली र धुरीमा सामान्य क्षति पुगेको छ । दुईवटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा साँझ ६ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट घरधनी राई घाइते भएका छन् । शरीरको विभिन्न भागमा आगोले जलेर घाइते राईलाई गणेशमानसिंह सामुदायिक अस्पताल पाँचथरमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि झापातर्फ ल्याइएको प्रहरीले जनाएको छ ।