झापा,कात्तिक २० । तिहारको पाँच दिनको अवधिमा झापामा सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

कात्तिक १५ गते लक्ष्मी पूजाको दिनदेखि हिजो सोमवारसम्म पाँच दिनमा ३१ वटा दुर्घटना भएका थिए । जसमा चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हिजो बिहान अन्दाजी ११ बजेको समयमा कन्काई– ५ चप्रामारीस्थित भित्री कच्ची सडकखण्डमा मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेका सोही ठाउँ बस्ने बिनोद पाठकका ७ वर्षीय छोरा सोहन पाठकलाई ठक्कर दिएको थियो । घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा हिजो विहान मृत्यु भएको थियो ।कात्तिक १६ गते साँझ ६.१० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– ११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी–८ बस्ने अन्दाजी ६१ वर्षीय गणेश खड्कालाई ठक्कर दिएको थियो । घाइतेको बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा हिजो बिहान अन्दाजी ५बजे मृत्यु भएको थियो ।

त्यस्तै सोही कात्तिक १६ गतेका दिन साँझ ६.३० बजे झापा गाउँपालिका वडा नम्बर ६ किरात चौकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको पनि हिजो बिहान मृत्यु भएको थियो । सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह लिङ्खा र उनका ७ वर्षीय छोरा अस्मिन लिङ्खालाई ठक्कर दिएको थियो ।
दुबै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते बालक अस्मिनको उपचारका क्रममा हिजो बिहान ५ः१० बजे मृत्यु भएको सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।

त्यस्तै कात्तिक १६ गते अर्जुनधारा नगरपालिका वडा नम्बर ६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको थियो ।

दिउँसो अन्दाजी ४बजे शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साईडमा रुखमा ठोक्किएको थियोे । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाउँपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको थियो ।

मृत्यु हुने चार जनामध्ये तीन जनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।
त्यस्तै तिहारमा ७ जना गंभीर र ४५ जना सामान्य गरी ५२ जना घाइते भएका छन् । तिहारमा ट्राफिक प्रहरीले ६६४ वटा सवारी साधनमाथि कार्वाही गरेको थियो । ती सवारी साधनमाथिको कार्वाहीबाट ३ लाख ९९ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्