लक्ष्मी उप्रेती
कन्काई । आगामी मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । रिक्त ३४ वडाध्यक्षमध्ये झापाको कन्काई नगरपालिका–६ मा पनि वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । यसका लागि अहिले झापाका प्रमुख राजनीतिक दलदेखि अन्य साना तथा स्वतन्त्र उम्मेद्वार समेतको अर्जुनदृष्टि सोही वडामा परेको छ ।

२०७९ सालको निर्वाचनमा नेकपा एमालेका दीर्घबहादुर थापा पाँचसय आठ मत प्राप्त गर्दैं विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले चार सय ४० मत प्राप्त गरेका थिए । २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका लक्ष्मीप्रसाद ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएको झ्वाकमा ओली नेपाली काँग्रेसबाट असन्तुष्ट जनाउँदैं स्वतन्त्र उम्मेद्वारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिए । तर,चुनाव जित्न नसकी उनी दोस्रो स्थानमा सीमित बने । अन्तिम समयमा नेपाली काँग्रेसले नेकपा एमालेका उम्मेद्वार थापालाई सघाएकै कारण ओली पराजित हुनु परेको सोही वडाका एकजना काँग्रेस नेताको दावी छ । ‘यसै हारिने भो उसै हारिने भो’ नाम नलेख्ने शर्तमा नगरस्तरीय ती नेताले भने,‘बरु बागी उम्मेद्वारलाई मत दिनुभन्दा एमालेकै उम्मेद्वारलाई मत दिने निर्णयमा पुगेर थापाजीलाई जितायौं । नेपाली काँग्रेसले त्यसो नगरेको भए ओलीजीको जित निश्चित थियो ।’ अहिले पनि काँग्रेसको भूमिका हेर्नुपर्ने उनको भनाई छ । साँच्चै अन्तिम समयमा पुगेर नेपाली काँग्रेसले नेकपा एमालेका उम्मेद्वारलाई आगामी उपनिर्वाचनमा सघाउने हो भने फेरि पनि एमालेकै उम्मेदवारले बाजी मार्ने स्थानीयको भनाई छ ।

लामो समय नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहेर काँग्रेसबाट असन्तुष्टी व्यक्त गर्दै २०७९ सालको निर्वाचनमा ओलीले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनी नेकपा एमालेका उम्मेद्वार दीर्घबहादुर थापासँग ६८ मतले पराजित बन्न पुगे ।

स्रोतका अनुसार यस पटक अन्य साना दलले समेत ओलीलाई समर्थन गरेका कारण पुनः नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेत र ओलीबीच नै कडा प्रतिस्पर्धा हुने भएको छ । ‘नेकपा एमालेलाई जोगाउनै चुनौती, स्वतन्त्रलाई हुन सक्छ लाभ ’ एकजना पुराना बामपन्थी नेताको भनाई छ । ‘त्यहाँ अन्य दलहरू एक भएपनि नेकपा एमालेका र स्वतन्त्र उम्मेद्वारलाई पाखा लगाउन सक्ने अवस्था देखिँदैन’उनी भन्छन् ‘यहाँ एमाले र स्वतन्त्र उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने प्रवल सम्भावना छ र यसअघिका निर्वाचनले पनि यस्तै देखाएको छ ।’ स्वतन्त्र उम्मेद्वार ओलीको पनि सम्भावना धेरै देखिन्छ । यस वडामा अन्य दलको पनि जनमत भएकाले यसपटक यो उपनिर्वाचनले ओलीको वडा सरकार प्रमुखको ढोका खुल्ने सम्भावना पनि कम छैन । यस पटक अन्य साना दलले समेत ओलीलाई समर्थन गरेको उनका समर्थकहरुको दावी छ ।

नेपाली काँग्रेसले २०७४ र २०७९ को बदला लिनका लागि पार्टीका वडा सभापतिसमेत रहेका रामगोपाल ओलीलाई उम्मेद्वार बनाएको छ भने नेकपा माओवादी केन्द्रले गणेश थापालाई वडाध्यक्षको उम्मेद्वारका रुपमा अघि सारेको छ ।
माओवादी उम्मेद्वार थापा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बसेर २०५७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए ।पछि माओवादी बनेका उनी पार्टीको जिल्ला सदस्य रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई आफ्नो पार्टीका तर्फबाट उपनिर्वाचनमा वडाध्यक्षको उम्मेद्वार बनाएको छ ।

६६ वर्षको उमेरमा गत असारमा वडाध्यक्ष थापाको निधनपछि हुन लागेको उपनिर्वाचनमा कसले बाजी मार्ला त त्यसका लागि निर्वाचनको अन्तिम मत परिणाम पर्खिनुको विकल्प छैन । कन्काई वडा नम्बर ६ मा २०७४ सालमा सम्पन्न निर्वाचनमा करिब २२ सय र २०७९ सालको निर्वाचनमा १८०० मतदाता रहेको अनुमान गरिएको छ ।

स्थानीय पत्रकार राम निरौलाका अनुसार मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनका लागि त्यस वडाबाट नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो दलका तर्फबाट उम्मेद्वारको नाम टुङ्गो लगाइसकेका छन् भने स्वतन्त्र उम्मेद्वारका रुपमा लक्ष्मीप्रसाद ओलीले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् ।

उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा निवेदन दिएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दललाई दर्ता गरिएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मंसिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता भएर सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

2 वटा प्रतिक्रिया

  1. पार्टीमा आबद्द भएर पार्टीले टिकट नदिएर स्वतन्त्र उम्मेदवार भएका कुनै पनि उम्मेदवारलाई स्विकार्नु हुदैन !
    १. स्नातक गरेको शिक्षित
    २. ३०- ४५ बर्ष भित्रको युवा
    ३. आर्थिक रुपले बिपन्नता नभएको
    ४. राज्य , सामाजिक , फौजदारी
    बलात्कार , मापसे मुद्दा नलागेको
    स्वच्छ ब्याक्तित्व हुनुपर्छ !!

  2. पार्टीमा आबद्द भएर पार्टीले टिकट नदिए पछि स्वतन्त्र भएका कुनै पनि उम्मेदवारलाई स्विकार्नु हुदैन !
    १. स्नातक गरेको शिक्षित
    २. ३०- ४५ बर्ष भित्रको युवा
    ३. आर्थिक रुपले बिपन्नता नभएको
    ४. राज्य , सामाजिक , फौजदारी
    बलात्कार , मापसे मुद्दा नलागेको
    स्वच्छ ब्याक्तित्व हुनुपर्छ !!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्