द्रोण अधिकारी,
झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहेको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारतका ब्रतालुहरुले भव्य रूपमा छठ पूजा गरेका छन् ।
भद्रपुरको मेची किनारमा हिमाली, पहाडी ,मारवाडी, बंगालीलगायत अधिकांश जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अघर््य दिएर भव्य रुपमा छठ पूजा गरिएकोे हो ।
नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने सदरमुकाम भद्रपुरस्थित मेची नदीमा मनाउँदै आएको छठ पर्वमा एक हजार बढी पूजास्थल निर्माण गरी ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवैपट्टिबाट दुवै देशका नागरिकहरुले सहभागी भएर साझा पर्व मनाएका छन् । पूजास्थलका लागि नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको निःशुल्क व्यवस्था गरेका छन् ।
पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाईएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अघर््य दिने र चौथो दिन विहान उदाउदो सूर्यलाई अघर््य चढाएपछि सम्पन्न हुने गर्छ । यो पर्वमा जनसहभागिता हिसावले नेपालको जनकपुरपछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।
यसैबीच छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा निर्मित कलात्मक चौतारोको उद्घाटनसहित गंगा आरती गरिएको छ ।भद्रपुर ५ नम्बर वडा कार्यालयले निर्माण गरेको कलात्मक चौतारोको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले संयुक्त रूपमा गरेका थिए । त्यस्तै भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको उद्घाटन राज्यमन्त्री राजवंशीले गरेका थिए ।
कार्यक्रममा कलात्मक चौतारो निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । चौतारोमा कला तथा डिजाइन कलाकार सञ्जय प्रधान रहेको जानकारी गराइएको थियो ।