झापा , कात्तिक २२ । आज साँझ छठ पूजाका लागि बिरिङ खोलाको घाटतर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
साँझ ४.१० बजे बाह्रदशी गाउँपालिका वडा नं.२ लिम्बू गाउँनजिक बिरिङ पुलपूर्व हुलाकी राजमार्गमा पश्चिमतर्फ पैदल जाँदै गरेकी कचनकवल गाउँपालिका वडा नं ६ बनियानी बस्ने ३० वर्षीया पुजा राजवंशीलाई सोही दिशाबाट आउँदै गरेको प्र.१–०१–०१३ प ८३५६ नं.को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुवै खुट्टा र कम्मरमा चोट लागेर राजवंशी सख्त घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी –२ बुट्टाबारी निवासी २४ वर्षीय अविर आलम र सोही मोटरसाइकलमा अगाडि सवार आलमका छोरा ३ वर्षीय रियाज आलमसमेत सख्त घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।