झापा, कात्तिक २३ । ताप्लेजुङमा आगामी मङ्सिर २३ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा फुटबल प्रतियोगिता र सिरिजङ्गा मेला–२०८१ हुने भएको हो ।
तेल्लोक रिपोर्टिङ क्लबले शुक्रवार बिहान सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तथा मेलाबारे जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार प्रतियोगितामा भारत, सिलिगुढीको एकसहित आठ टोलीको सहभागिता रहनेछ ।
फुटबल प्रतियोगितामा सहभागी हुने टोलीमा भारतको पारिजात सङ्घ फुटबल क्लब सिलिगुढी, सिरिजङ्गा रिपोर्टिङ क्लब मोरङ छ । यस्तै न्यु स्टार क्लब झापा, मरिक फुटबल क्लब धरान सुनसरी, ब्रदरहुड फुटबल क्लब बेलका उदयपुर, साँगुरीगढी फुटबल क्लब धनकुटा, वाईवाई पाँचथर फुटबल क्लब र स्थानीय तेल्लोक रिपोर्टिङ क्लबको सहभागिता रहनेछ ।
प्रतियोगितामा विजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद राशिको पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख २५ हजार ५५५ रुपियाँ नगद तथा ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजक क्लबले जानकारी दिएको छ ।
किराँत लिम्बू लिपि ‘सिरिजङ्गा लिपि’ का प्रचारक तथा याक्थुङ संस्कृतिका प्रणेता इतिहास व्यक्तित्व सिरिजङ्गासिङ थेबेको जन्मजयन्तीको अवसर पारेर प्रतियोगिता आयोजना गरिँदै आएको छ । विक्रम सम्बत् १७०४ मङ्सिर २९ गते पूर्णिमाको दिन इतिहास व्यक्तित्व थेबेको जन्म भएको थियो । उनको जन्म जयन्तीको अवसरमा यसवर्ष फुटबल प्रतियोगितासँगै सिरिजङ्गा मेला आयोजना गरिएको क्लबका अध्यक्ष भट्टराईले जानकारी दिए ।