झापा, कात्तिक २३ । ताप्लेजुङबाट झापा आउँदै गरेको ट्रक मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डअन्तर्गत पाँचथरको भारपामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
हिलिहाङ–६ ढकाल गाउँनजिक ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ–३ साम्रेका ५७ वर्षीय भवानीशंकर पौडेलको घटनास्थलमै ज्यान गएको हो । उनी सो ट्रकमा गोपेटारबाट लिफ्ट मागेर फिदिम आउँदै गरेका थिए । दुर्घटनामा परी ट्रकका चालक इलाम सूर्योदय नगरपालिका–१२ निवासी ५२ वर्षीय तेजबहादुर दास र ट्रक मालिक झापा बिर्तामोड १ चारपानेका ४० वर्षीय राजकुमार बस्नेत घाइते भएका छन् ।
उनीहरुको शरीरका विभिन्न अंगमा चोट लागेको छ । अवस्था जटिल रहेकाले उनीहरुलाई पाँचथर अस्पतालबाट बिर्तामोडस्थित बीएण्डसी अस्पतालका लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्रक हिलिहाङ–१ सिंहापुरदेखि झापाका लागि गोलिया बोकेर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले बताए ।ट्रक ब्रेक फेल भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ ।